गृहपृष्ठ नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल
नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल
काठमाडौं — नेपालमा पछिल्लो सात दिनको अवधिमा कम्तीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति काभ्रेपलाञ्चोक जिल्लाका हुन्, र उनीहरू सबैको परीक्षण धुलिखेलमा गरिएको थियो।
हालै चीन र भारतमा कोरोना संक्रमणको दर पुनः उच्च देखिएको सन्दर्भमा नेपालमा पनि नयाँ भेरियन्ट प्रवेश गरेको हो कि भन्ने शंका उब्जिए पनि सरकारले यसबारे कुनै ठोस जानकारी सार्वजनिक गरेको छैन।
स्वास्थ्य मन्त्रालयले आइतबार नयाँ संक्रमणका विषयमा छलफल गरी सीमा नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा हेल्थ डेस्कमार्फत निगरानी कडा बनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार, “हामीले नाकाहरूमा किटसहितको व्यवस्था गरेर स्वास्थ्य जाँच सुरु गर्न निर्देशन दिइसकेका छौँ।”
टेकुमा सात संक्रमितको उपचार सुरु
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संक्रमित सबैलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको जानकारी दिए। “धुलिखेलमा परीक्षण गर्दा संक्रमण देखिएपछि सबैलाई टेकु ल्याइएको हो,” उनले बताए।
उनका अनुसार, हालसम्मको परीक्षणबाट नेपालमा देखिएको संक्रमण नयाँ भेरियन्ट भएको ठोस प्रमाण भने नआएको हो। “फाटफुट केस अघिपनि देखिन्थे तर अहिले एउटै ठाउँमा सात जनामा एकैपटक देखिएकाले सतर्कता बढाइएको हो,” उनले भने।
नियमित प्रक्रिया भन्दै डर नमान्न विज्ञको सुझाव
स्वास्थ्य मन्त्रालयले थप परीक्षणहरू सुरु गरिसकेको बताउँदै, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि आवश्यक तयारी र निगरानीमा विशेष ध्यान दिन निर्देशन दिइसकेको मन्त्रालय स्रोतले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार पछिल्लो २४ घण्टामा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। “यो डराउनु पर्ने अवस्था होइन, नियमित परीक्षण प्रक्रियामै देखिएको केस हो,” उनले भने।
शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा देखा परेको भेरियन्ट संक्रामक भए पनि घातक नरहेको बताए। “जसरी म्युटेसन हुँदै गएर फरक स्वरूप देखिन्छ, यो पनि त्यस्तै हो। तर, अहिलेसम्मको आधारमा यो भेरियन्ट घातक देखिएको छैन,” उनले प्रष्ट पारे।
उनले नेपालमा नयाँ भेरियन्ट देखा पर्न सक्छ भन्ने सम्भावना रहे पनि अनावश्यक त्रास होइन, सचेतता आवश्यक रहेको सुझाव दिए।















