गृहपृष्ठ रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम रूपन्देहीमा सुरु

रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम रूपन्देहीमा सुरु


माघ २६, २०८२

रुपन्देही क्षेत्र नम्बर १ को देवदह–खैरेनीमा ‘जनसम्पर्क’ कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा सम्बोधन गर्दै रवि लामिछानेले अहिलेसम्मका निर्वाचनमा दल र नेताहरू मात्र जित्दै आएको बताएका छन्। उनले हरेक निर्वाचनमा दलहरू विजयी हुँदै आए पनि आगामी फागुन २१ मा हुने चुनाव फरक रहेको दाबी गरे।
“दल र नेताले धेरैपटक जिते, हरेक निर्वाचनमा दलले जित्दै आएका छन्। तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,” लामिछानेले भने।

रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को टिम समाहित भएको सन्दर्भमा उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट गरिएको स्पष्ट पारे। “हामीले पद बाँडेका छैनौं, जिम्मेवारी विभाजन गरेका छौं,” उनले भने।

लामिछानेले आगामी पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने बताए  साथै घोषणापत्रभन्दा काममा विश्वास गर्ने र विगतमा अन्य दलले गर्न नसकेका काम आफूहरूले पूरा गर्ने  जिकिर गरे।

देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र त्यसपछि लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ।

यसैबीच, स्वतन्त्र पार्टी (स्वपा) रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार ‘जनसम्पर्क’ अभियानका क्रममा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगिने कार्यक्रम तय गरिएको छ। समय अभावका कारण बाटोमा पर्ने २६ स्थानमध्ये केही स्थानमा मात्र संक्षिप्त रूपमा रोकिएर सभापति लामिछानेले हात हल्लाउँदै मतदातालाई अभिवादन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु