गृहपृष्ठ पञ्चाङ्ग निर्णायक विकास समितिमा नवनियुक्त अध्यक्षमा शम्भु ढकाल
पञ्चाङ्ग निर्णायक विकास समितिमा नवनियुक्त अध्यक्षमा शम्भु ढकाल
- भदौ १९, २०८२
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत प्रा. शम्भुप्रसाद ढकाललाई समितिको अध्यक्षमा जिम्मेवारी दिएका छन्।
समितिको सदस्यमा धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ, र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग) का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरिएको छ। समितिका अन्य सदस्य ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी रहेको छ।
नवनियुक्त अध्यक्ष र सदस्यहरूलाई आजै नारायणहिटी दरबार सङ्ग्रहालयस्थित समितिको कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरिने वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए। अध्यक्ष र सदस्यहरूको कार्यकाल पाँच वर्षका लागि हुने उल्लेख गरिएको छ।
समितिमा यसअघि प्रा. श्रीकृष्ण अधिकारीको नेतृत्व रहेको थियो र उनको कार्यकाल गत असार २३ गते सकिएको थियो। समितिको कार्यकारी निर्देशकको पद भने खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रियामा रहेको छ। समितिका अनुसार, सो पदका लागि तीन जनाले आवेदन दिएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश, जुन मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको थियो, अनुसार समितिले चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका विषयमा निर्णय गर्ने तथा प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्वीकृति दिने काम गर्नेछ।










