गृहपृष्ठ सुपादेउराली मन्दिरको प्रचारका लागि नयाँ भजन सार्वजनिक, पर्यटकीय आकर्षण थपिँदै
सुपादेउराली मन्दिरको प्रचारका लागि नयाँ भजन सार्वजनिक, पर्यटकीय आकर्षण थपिँदै
अर्घाखाँची, ०४ जेठ
अर्घाखाँची जिल्लास्थित सुपादेउराली मन्दिरको धार्मिक महत्व र प्रचारप्रसारका लागि एक भजन सार्वजनिक गरिएको छ। नेपालको १०० प्रमुख धार्मिक पर्यटकीय गन्तव्यहरूमध्ये पर्नेको रूपमा चिनिएको सुपादेउराली मन्दिरको महिमा उजागर गर्ने उद्देश्यले भजन तयार पारिएको हो।
“जय जय भगवती सुपादेवी देउरालीकी माई…” बोलको यस भजनमा सुपादेउराली माईको आराधना, शक्तिपीठको स्वरूप, मन्दिरको ऐतिहासिक पृष्ठभूमि, ‘लाहुरे टाँसेको भिर’ लगायतका विशेषताहरू समेटिएको छन्। मोतिराज खनाल र शेषनारायण पोख्रेलले लेखेको गीतमा मोतिराज खनाल र धर्मेन्द्र अर्यालले लय भरेका छन्। गायनमा मोतिराज खनाल, शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मन्जु गुरुङ सहभागी छन् भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्।
भिडियो निर्देशन सुरज खनालले गरेका छन्, कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ। चर्चित हास्यकलाकार सुरबीर पण्डित (दारी बा), शर्मिला खड्का, अनिशा खड्का, लेखान्त भुसाल लगायत कलाकारहरूको अभिनय समेटिएको यस भजनलाई ‘मोतिराज खनाल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
धार्मिक आस्था र पर्यटकको गन्तव्य : सुपादेउराली मन्दिर
अर्घाखाँचीको धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने सुपादेउराली मन्दिर शक्तिपीठका रूपमा प्रसिद्ध छ। समुद्र सतहदेखि उचाइमा अवस्थित यो मन्दिर हरियाली र चट्टानी पहाडको बीचमा रहेको छ, जहाँबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
भारतसहित छिमेकी जिल्लाहरू—गुल्मी, पाल्पा, प्यूठान, कपिलवस्तु, रूपन्देही, दाङ, बाके, बर्दियाबाट हजारौं श्रद्धालु यहाँ दर्शन गर्न आउने गर्छन्। वैशाखदेखि चैत महिनासम्म विशेषगरी भदौ, कात्तिक र माघमा मन्दिरमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ।
किंवदन्तीको आकर्षण : लाहुरे टाँसेको भिर
स्थानीय किंवदन्ती अनुसार, धन कमाउन भारत गएका एक युवकले सुपादेउराली मातालाई भेटी दिने वाचा गरे पनि फर्किएपछि त्यो पुरा नगरेको कारण देवीको क्रोधले उनी चट्टानमा टाँसिएको जनविश्वास रहिआएको छ। आजभोलि ‘लाहुरे टाँसेको भिर’ तीर्थालुहरूका लागि एक थप आकर्षण बनेको छ।
धार्मिक पर्यटनमार्फत स्वरोजगारको सम्भावना
सुपादेउराली मन्दिरमा आउने पर्यटकलाई वरपरका ऐतिहासिक तथा धार्मिक स्थलहरू—मथुरा दरबार, बल्कोट पौवा, पाणिनि तपोभूमि, दुर्वाशेश्वर गुफा, मालारानी मन्दिर, अर्घादरबार लगायतमा लैजान सकिने सम्भावना छ। वडाध्यक्ष चुराबहादुर केसीका अनुसार, ती स्थलहरूको प्रवर्द्धन गर्न सकेमा धार्मिक पर्यटनबाट युवालाई स्वरोजगारका अवसर दिन सकिन्छ।










