गृहपृष्ठ यस्ताे छ “विवाह पञ्चमीको अर्थ र महत्व”

यस्ताे छ “विवाह पञ्चमीको अर्थ र महत्व”


मंसिर ९, २०८२

यज्ञ भट्टराई

विवाह पञ्चमी भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झनामा मनाइने अत्यन्त पवित्र पर्व हो। यो पर्व मार्गशीर्ष (मंसिर) महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। जनकपुरमा राम–सीताको विवाह सम्पन्न भएको मानिन्छ। मिथिला–राज्यका राजा जनक एक धर्मात्मा, सत्यवादी र ज्ञानी राजा थिए। एक दिन खेत जोत्दा हलको अग्रभागले जमीन भत्काएर भित्रबाट एक सुन्दर बालिका प्रकट भइन्। राजा जनकले उनलाई भुमीपुत्री अर्थात् सीता नाम दिए र कञ्चन–कन्या जस्तै पालनपोषण गरे। सीता उमेरले ठूली भएपछि उनका लागि योग्य वर खोज्न राजाले स्वयंवर आयोजना गर्ने निर्णय गरे। सीताको जन्म अलौकिक भएकाले उनलाई साधारण वरले प्राप्त गर्न सक्दैनथ्यो। त्यसैले राजा जनकले कठोर शर्त राखे। राजा जनककहाँ भगवान् शिवको दिव्य धनुष– पिनाक धनुष (शिव–धनुष) थियो। यो धनुष देव–दानव कसैले पनि चलाउन नसक्ने अपार भार भएको थियो। स्वयंवरमा विशेष शर्त राखियो। त्यो शर्त थियो – “जो यो शिव–धनुष उठाएर तान्न सक्दछ, सीताको विवाह उसैसँग गरिनेछ।” स्वयंवरमा आएका शक्तिशाली राजाहरू, वीर योद्धाहरू कसैले पनि त्यो धनुष उठाउन सकेनन्। कतिको त प्रयास गर्दा हात नै चर्कियो, कति त धनुषको नजिकै पुगेर फर्किए। त्यही बेला गुरु विश्वामित्रसँग दैत्य संहारका क्रममा सीतादेवीलाई देखिसकेका अयोध्याका राजकुमार श्रीराम पनि आफ्ना भाई लक्ष्मणसहित जनकपुर आइपुगे। गुरु आदेशबाट रामले धनुष हातमा लिए। रामले सहजै धनुष उठाए, टेकेर तान्न खोज्दै गर्दा धनुष दुई भागमा चर्किएर टुट्यो। सबै राजाहरू अचम्म र विस्मयमा परे। धनुष चर्किएको आवाजले आसमान गुन्जायमान भयो। राजा जनक हर्षले भरिए। स्वयम् महर्षि विश्वामित्रले जनकलाई विवाह गराउन प्रेरित गरे। अयोध्याका महाराज दशरथ पनि जनकपुर निम्ताईएकोले आईपुग्नु भयो।मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पूर्ण विधि–विधानसहित श्रीराम र सीताको दिव्य विवाह सम्पन्न भयो। लक्ष्मण–उर्मिला, भरत–माण्डवी, शत्रुघ्न–श्रुतिकीर्ति पनि यही अवसरमा विवाहबद्ध भए। त्यसैले आजको यस दिनलाई विवाद पञ्चमी भनिएको हो। विवाह पञ्चमी पर्वको सबैलाई हार्दिक शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु