गृहपृष्ठ संघीयताको सफल कार्यान्वयनमा सहकार्य र स्पष्ट जिम्मेवारीमा जोड : नेकपा माओवादी केन्द्र उपमहासचिव पुन
संघीयताको सफल कार्यान्वयनमा सहकार्य र स्पष्ट जिम्मेवारीमा जोड : नेकपा माओवादी केन्द्र उपमहासचिव पुन
२०८२ भदौ १६
रोल्पा — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयतालाई नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन्।
रोल्पास्थित संघ र प्रदेशका सरकारी कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पुनले तीन तहका सरकारमार्फत जनताको सार्वभौम अधिकार सुनिश्चित भएको बताए। उनले भने, “तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ। देशका मालिक जनता हुन् र जनताले शासन गर्ने व्यवस्था संविधानमा स्पष्ट छ।”
पुनले संघीयता सहकार्यमा आधारित रहेको चर्चा गर्दै तीनै तहबीच स्पष्ट समन्वय, सहकार्य र कार्यविभाजन आवश्यक रहेको बताए। उनले संविधानले व्यवस्था गरेको अनुसार संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला आएको पनि औँल्याए।
संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रमा थप स्पष्टता आवश्यक रहेको भन्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम सञ्चालन गर्नु संविधानको मर्म विपरीत हुने उल्लेख गरे।
उनले संघीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। संघले नीति निर्माण, प्रदेशले विकास योजना सञ्चालन र स्थानीय तहले सेवा प्रवाह गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा देखिएका त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो।
पुनले संघीयतामा संघ मात्र नभई प्रदेश र स्थानीय तहले संवैधानिक व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा सबैले विचार गर्नुपर्ने बताए।








