गृहपृष्ठ विद्या भण्डारीको सदस्यता विवाद : एमालेभित्र ध्रुवीकरण चर्किँदै, महाधिवेशनमा फरक प्रतिवेदनको तयारी

विद्या भण्डारीको सदस्यता विवाद : एमालेभित्र ध्रुवीकरण चर्किँदै, महाधिवेशनमा फरक प्रतिवेदनको तयारी


२०८२ भदौ १६

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र हालैको विवादको केन्द्रीय विषय बनेको छ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय।
यो निर्णयसँगै पार्टीभित्र असन्तुष्टि तीव्र बनेको छ र फरक मतसहितको प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु भइसकेको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायत नेताहरूले यसलाई पार्टीको विधि, परम्परा र मूल सिद्धान्त (जबज) माथिको प्रहार मानेका छन्। उनीहरूले भण्डारीको सदस्यता रोक्ने कदमलाई अस्वीकार्य भन्दै विधान महाधिवेशनमा नै फरक मत लैजाने तयारी गरेका छन्।

अध्यक्ष ओली भने यसलाई फरक दस्तावेजमार्फत् अघि बढाउन नदिने अडानमा छन्। उनले महाधिवेशनमा आधिकारिक दस्तावेजमार्फत मात्र छलफल हुने र फरक मतमा जानेलाई “हिसाब–किताब” हुने चेतावनी दिएका छन्।

यता, भण्डारी पक्षले पार्टी फुटाउने हैन, तर आन्तरिक लोकतन्त्र र स्थापित मूल्यको संरक्षणका लागि लडाइँ लडिरहेको दाबी गर्छ। उनीहरू अहिले थापागाउँस्थित सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि तीव्र बनाउँदै छन् र ‘मदन भण्डारी हीरक जयन्ती समिति’लाई देशव्यापी बनाउँदै जबजबारे बहसलाई जनस्तरसम्म लैजाने तयारीमा छन्।

यस विवादले एमालेभित्र आन्तरिक ध्रुवीकरण गहिरिँदै गएको छ। आगामी विधान महाधिवेशनमा यो विषय प्रमुख एजेन्डा बन्ने पक्का छ भने, दीर्घकालमा पार्टीको “मिसन ८४” समेत प्रभावित हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु