गृहपृष्ठ दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन
दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन
बुटवल टाइम्स
१८ फागुन २०८२
काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। पारिवारिक स्रोतका अनुसार बिहान ६ बजेदेखि नै प्रहरी टोली निवास वरिपरि तैनाथ रहेको थियो। करिब पौने ८ बजे पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक शान्ति विरुद्धको मुद्दामा अनुसन्धान गर्न आवश्यक रहेको उल्लेख गर्दै पक्राउ गरिएको जनाएको छ। हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए। उनकी पत्नी उमा प्रसाईंले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले १३ फागुनमा थुनामुक्त गर्न आदेश दिएको थियो।










