गृहपृष्ठ राप्तीको बगरमा भारतीय कृषकको तरबुजा व्यापार: नेपाली भूमिमा करोडौँको आम्दानी

राप्तीको बगरमा भारतीय कृषकको तरबुजा व्यापार: नेपाली भूमिमा करोडौँको आम्दानी


बाँके १८ बैशाख — बाँकेको सिधनियाघाटस्थित राप्ती नदीको बगर अहिले तरबुजा किन्नेको भीडले भरिएको छ। गर्मीको मौसम चुलिंदै जाँदा बगरमै पाकेका तरबुजाले सर्वसाधारणलाई तान्न थालेका छन्। नदी किनारमै तरबुजा बिक्री भइरहेकाले नेपालगञ्जबाट राप्ती सोनारी, नरैनापुर हुँदै दाङतर्फ जाने यात्रु पनि बगरमै किनमेल गरेर जान थालेका छन्।

गत वर्षदेखि भारतीय कृषकहरू यस क्षेत्रमा तरबुजा खेती गर्दै आएका छन्। यसपालि पनि उनीहरूले चैतमै रोपेका तरबुजा अहिले धमाधम बिक्री भइरहेका छन्। भारतको बागपत जिल्ला निवासी मोहमद युसुफले भने, “हामी मेहनत पनि गर्छौं, फाइदा पनि लिन्छौं, त्यसैले फेरि आएका हौं।”

युसुफका अनुसार यसपटक उनका भाइ–भतिजासहित आठ परिवार नेपाल आएका छन्। उनीहरू बिहानदेखि बेलुकासम्म नदी किनारमै बसेर प्रतिव्यक्ति दैनिक झन्डै १० हजार रुपैयाँ बराबरको तरबुजा बेच्ने गरेका छन्। उनले अघिल्लो वर्ष ५० हेक्टर क्षेत्रफलमा खेती गरेर चार लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताए।

हाल उनीहरू ४० रुपैयाँ प्रतिकिलो दरमा तरबुजा बिक्री गरिरहेका छन्। सुरुमा यो मूल्य ५०–६० रुपैयाँ प्रतिकिलोसम्म थियो। तरबुजाको बिक्री कम्तीमा एक महिना चल्ने भारतीय कृषकहरू बताउँछन्।

२०० हेक्टरभन्दा बढी क्षेत्रमा तरबुजा लगाएका अर्का भारतीय कृषक शाहिद अली पनि उत्पादनप्रति उत्साहित छन्। “नेपालमा खेती राम्रो हुन्छ। अघिल्लो पटक फाइदा भयो, त्यसैले फेरि आएको हुँ,” उनले भने। शाहिदले तरबुजा खुद्रा बिक्रीभन्दा बढी थोकमा नेपालगञ्ज, भाटभटेनी सुपरमार्केट, सुर्खेत, दाङ र काठमाडौंसम्म पठाउने गरेको बताए।

तरबुजासँगै उनीहरूले बगरमै उत्पादन गरेको काँक्रा, फर्सी, लौका, बोडी समेत बिक्री गरिरहेका छन्। शाहिदका अनुसार काँक्रा मात्रै दुई लाख रुपैयाँभन्दा बढीको बिक्री भइसकेको छ।

नेपालमा आएर खेती गर्न पाउँदा खुसी लागेको जनाउँदै अर्का कृषक मोहमद गुरगानले नेपाली किसानहरूलाई सिकाउने प्रयास गरे पनि मेहनतको डरले उनीहरू चासो नदिएको बताए।

नेपालगञ्जका उपभोक्ता मोहमद सादेले पनि यस्तै चिन्ता व्यक्त गरे। उनले भने, “यदि यति उत्पादन नेपालीले गरेका हुन्थे भने जमिनको सदुपयोग र रोजगारी दुवैको सृजना हुन्थ्यो। तर हामी मेहनत गर्न डराउँछौं।”

राप्ती किनारको बगर सिधनियाँ, हल्कारापुर, कम्दी र बालापुरका स्थानीयको नम्बरी जग्गा हो। तर पर्याप्त पूँजी र जनशक्ति अभावका कारण उनीहरूले आफैं खेती गर्न सकेका छैनन्। सिधनियाँका सर्वेश कुमार यादव भन्छन्, “चार विघा जमिन छ तर सानो परिवार भएकाले जनशक्ति पुग्दैन। त्यसैले भारतीयलाई दिएको छु।”

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हरेक वर्ष तालिम र प्रोत्साहन कार्यक्रम गरिए पनि नेपाली कृषकहरूले बगर खेतीलाई व्यावसायिक रूपमा अंगाल्न सकेका छैनन्। बाँझिएको करिब २ हजार हेक्टर बगर आज भारतीय कृषकहरूको लागि करोडौं आम्दानीको माध्यम बनेको छ।

बागपतबाट आएका करिब ४० जना भारतीय कृषकहरू अहिले दिनरात मिहिनेत गरेर नेपाली उपभोक्तालाई नै बगरको तरकारी र तरबुजा बेचिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु