गृहपृष्ठ स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल

स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल

oplus_0

२४ माघ२०८२
कल्पना घिमिरे

रूपन्देही -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका सुनिल लम्सालले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्न सके रोजगारीको ठूलो अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। उहाँका अनुसार आधुनिक प्रविधि, बजार व्यवस्थापन र युवाको आकर्षण बढाउन सके कृषि क्षेत्र देशको रोजगारीको प्रमुख आधार बन्न सक्ने उल्लेख गर्नुभयो ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै लम्सालले यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्ने बताउनुभयो । उम्मेदवार सुनिल लम्सालले स्वास्थ्य, शिक्षा र रोजगारी सृजना आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छ। उहाँले यी तीन क्षेत्रलाई मजबुत बनाउन सके मात्र देशलाई दिगो विकास र समृद्धिको दिशामा लैजान सकिने बताउनुभयो।

रुपन्देहीको तिलोत्तमामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री लम्सालले नेपालजस्तो कृषिप्रधान देशमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउन सके कुल रोजगारीको करिब ६० प्रतिशतसम्म यही क्षेत्रबाट सृजना गर्न सकिन्छ। “व्यवसायिक रूपमा कृषिको आधुनिकीकरण गर्न सकियो भने ठूलो मात्रामा रोजगारी सृजना हुन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि राज्यले उन्नत कृषि प्रणालीको विकासमा ध्यान दिनुपर्छ।”

आफ्नो निर्वाचन क्षेत्रका किसानले भोग्दै आएका समस्या गम्भीर रहेको बताउँदै महामन्त्री लम्सालले ती समस्या समाधानका उपायबारे आफूले अध्ययन गरिरहेको जानकारी दिनुभयो। आगामी घोषणापत्रमा कृषि क्षेत्रका समस्या र समाधानका ठोस योजना समेटिने उहाँको भनाइ छ। किसानले मल, बीउ तथा कृषि सामग्रीमा अत्यधिक मूल्य तिर्नुपरेको उल्लेख गर्दै उहाँले राज्यले सहुलियतपूर्ण व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

उद्योग र रोजगारीको सन्दर्भमा बोल्दै महामन्त्री लम्सालले रुपन्देहीका धेरै उद्योगमा नेपाली श्रमिकभन्दा विदेशी, विशेषगरी भारतीय नागरिकले बढी रोजगारी पाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले सकेसम्म नेपाली श्रमिकलाई नै प्राथमिकता दिएर रोजगारी उपलब्ध गराउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो। “स्वदेशमै रोजगारी सृजना गर्न सकिएन भने युवाहरू विदेशिन बाध्य हुन्छन्,” उहाँले भन्नुभयो।

महामन्त्री लम्सालले रुपन्देही क्षेत्र नं. १ का केही बस्तीहरूमा अझै पनि घरमै शौचालय बनाउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यस्ता स्थानमा राज्यले प्रत्यक्ष पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारबिनाको विकास सम्भव नभएको बताउँदै आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

रास्वपाले भ्रष्टाचार निवारण र सुशासनलाई मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै महामन्त्री लम्सालले देशलाई सही दिशामा लैजान इमानदार र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो। पेशाले इन्जिनियरसमेत रहनुभएका उहाँले आफू भाषण र प्रचारभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयाे , म प्रचारमुखी होइन, काम गरेर देखाउने मान्छे हुँ,” “प्राविधिक सोच, इमानदारी र स्पष्ट योजनाका साथ अघि बढे देशको मुहार फेर्न सकिन्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु