गृहपृष्ठ बुटवल उपमहानगरद्वारा छड्के अनुगमन, प्रदर्शनीमा कमजोरी भेटिएन
बुटवल उपमहानगरद्वारा छड्के अनुगमन, प्रदर्शनीमा कमजोरी भेटिएन
पुस १३, २०८२
बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको दशौँ दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ। म्याद गुज्रिएका वस्तु बिक्री तथा अखाद्य सामग्रीको प्रयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राखी गरिएको अनुगमनमा कुनै पनि गम्भीर कमजोरी नदेखिएको उपमहानगरले जनाएको छ।
उपमेयर सावित्रा अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले अधिकांश स्टल र होटलहरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा दुई होटलमा सामान्य सरसफाइमा सुधार गर्न सुझाव दिइएबाहेक अन्य कुनै त्रुटि फेला नपरेको उपमेयर अर्यालले बताउनुभयो। यसअघि भएका अनुगमनको तुलनामा यसपटक प्रदर्शनी अझ व्यवस्थित रहेको उहाँको भनाइ छ।
रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष तथा स्टल अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले अनुगमन टोलीसँग साक्षीका रूपमा सबै स्टलमा पुगेको र सामान्य सरसफाइबाहेक अन्य समस्या नदेखिएको जानकारी दिनुभयो।
आइतबार प्रदर्शनी स्थलमा स्वदेशीका साथै विदेशी अवलोकनकर्ताको उपस्थिति बढेपछि आयोजक उत्साहित भएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी पाएर भुटानबाट लुम्बिनी भ्रमणमा आएका करिब तीन दर्जन पर्यटकले प्रदर्शनी अवलोकन गरेको प्रचार–प्रसार उपसमिति संयोजक किरण खरेलले बताउनुभयो। पर्यटन उपसमिति संयोजक टंकनारायण आचार्यका अनुसार स्थानीय पर्यटन व्यवसायीसँगको समन्वयमा ती पर्यटकलाई प्रदर्शनी स्थल ल्याइएको हो।
त्यसैदिन चितवन उद्योग संघ र देवदह व्यापार संघको नेतृत्वमा आएको संस्थागत टोलीलाई सम्मान गरिएको अतिथि सत्कार उपसमिति संयोजक शारदा भट्टराईले जानकारी दिनुभयो।
प्रदर्शनी अन्तर्गत आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल प्रथम, अक्सफोर्ड दोस्रो र तिनाउ तेस्रो भएका छन् भने खुला रक्तदान कार्यक्रममा पनि रक्तदाताको सहभागिता बढ्दै गएको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशेष सिलवालले बताउनुभयो।
आइतबार नै नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगानाले प्रदर्शनी अवलोकन गर्नुभएको छ। उहाँ सोमबार आयोजित ‘समृद्ध नेपालको आधारः स्वदेशी उद्यमशीलताको विस्तार’ विषयक छलफल कार्यक्रममा सहभागी हुन बुटवल आउनुभएको हो।
पुस ३ देखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा अवलोकनकर्ता र कारोबार दुवै दैनिक रूपमा बढ्दै गएको प्रदर्शनी प्रबन्धक यादव भण्डारी तथा संघका कोषाध्यक्ष विशाल वेलवासेले जानकारी दिनुभयो। चिसो मौसमका बाबजुद पनि प्रदर्शनीमा उल्लेख्य भीड लागेको छ।










