गृहपृष्ठ प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा
मंसिर १४, २०८२
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का दुई विभाजित पक्षबीच आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। महेश श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा सहमतिमा हस्ताक्षर गरेका हुन्।
एनआरएनए केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा छुट्टाछुट्टै समूहमा सञ्चालन हुँदै आएको थियो। बदलिएको परिस्थितिअनुसार दुवै पक्ष १० बुँदे सहमतिमा एकताबद्ध भएका छन्। सहमतिअनुसार १२औं महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।
एकता प्रक्रियालाई व्यवस्थापन गर्न ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ। कमिटीका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न नपाउने सहमति भएको छ।
अदालतमा दायर भएका सबै मुद्दा फिर्ता लिने, परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षरित सहमति अभिलेखीकरण गर्ने, तथा संभावित विवाद परराष्ट्र मन्त्रालयको समन्वयमा समाधान गर्ने व्यवस्था गरिएको छ।
सहमतिको पहिलो बुँदाअनुसार ११औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमिति र २०२५ मेमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा स्वीकार गरिएको छ।
दुवै पक्षको आर्थिक विवरण पारदर्शी बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गरिनेछ।
महाधिवेशनको पारदर्शिता, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्ने गरी थप पूरक सहमति पनि गरिने उल्लेख छ।









