गृहपृष्ठ एमसीसीअन्तर्गत नेपाललाई अमेरिकाबाट थप ५ करोड डलर अनुदान
एमसीसीअन्तर्गत नेपाललाई अमेरिकाबाट थप ५ करोड डलर अनुदान
मंसिर ३, २०८२
काठमाडौं — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालका लागि अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान प्रदान गर्ने घोषणा गरेको छ। योसँगै एमसीसी सम्झौताअन्तर्गत उपलब्ध कुल अनुदान रकम ७४ करोड ७० लाख डलर पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ।
दूतावासका अनुसार, नव–घोषित आर्थिक सहयोगले विद्युत् प्रसारण पूर्वाधारलाई पूर्णता दिने, ऊर्जा प्रणाली सुदृढीकरण गर्ने तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने एमसीसी सम्झौताका प्रमुख उद्देश्यहरूलाई अझ प्रभावकारी बनाउनेछ।
एमसीसीले नेपालमा निर्माण भइरहेका प्रसारण लाइन र सब–स्टेशनजस्ता संरचनाले ऊर्जा ग्रिडको विश्वसनीयता बढाउने, बजार पहुँच सुधार्ने तथा अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटी सुदृढ गर्ने अपेक्षा गरिएको छ। साथै, यस परियोजनाले अमेरिकी प्रविधि र कम्पनीहरूलाई नेपाली बजारमा प्रवेश गर्ने अवसर थप विस्तार गर्ने दूतावासले जनाएको छ।
अमेरिकी दूतावासले यो सहयोगलाई नेपाल–अमेरिका दीर्घकालीन साझेदारीको प्रतीक भएको उल्लेख गर्दै भनेको छ, “दशकौँदेखि दुवै देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिका लागि सहकार्य गर्दै आएका छन्। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदान–आधारित सहयोगमार्फत यो इतिहासलाई निरन्तरता दिएको छ।”









