गृहपृष्ठ ६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता
६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता
कार्तिक १६, २०८२
काठमाडौँ — लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधानतर्फ अग्रसर हुँदै यातायात व्यवस्था विभागले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने भएको छ।
यसका लागि विभाग र सुरक्षा मुद्रण केन्द्रबीच बिहीबार सम्झौता (MoU)मा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार मुद्रण केन्द्रले आगामी ६ महिनाभित्र १२ लाख लाइसेन्स छापी विभागलाई उपलब्ध गराउनेछ।
विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
पहिलो चरणमा १२ लाख, बाँकीका लागि बजेटपछि
विभागका निर्देशक केशव खतिवडाका अनुसार पहिलो चरणमा बजेट अनुसार १२ लाख लाइसेन्स छाप्ने योजना छ।
‘विभागमा आएदेखि नै लाइसेन्सको समस्या समाधानमा जुटेको छु,’ खतिवडाले भने, ‘छ महिनाभित्र आधा लाइसेन्स छापेर वितरण गरिनेछ, बाँकीका लागि बजेट सुनिश्चित भएपछि अर्को चरण सुरु हुन्छ।’
उनका अनुसार विभागको प्रणाली सञ्चालनमा आएपछि मुद्रण केन्द्रले तुरुन्त छपाइ सुरु गर्ने तयारी गरेको छ।
डेटा उपलब्ध भएपछि छपाइ सुरु
सुरक्षा मुद्रणसम्बन्धी ऐनमा लाइसेन्स छपाइको व्यवस्था भएकाले यो काम सुरक्षण मुद्रण केन्द्रमार्फत गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले बताए।
‘यातायात विभागसँग सहकार्यमा काम गर्दै आएका छौं,’ उनले भने, ‘गत जेठमै समझदारी भएको थियो, तर २४ भदौको आगलागीपछि प्रणाली र डेटा क्षतिग्रस्त हुँदा प्रक्रिया रोकिएको थियो।’
ढुंगानाका अनुसार अब विभागको डेटा उपलब्ध भएको एक साताभित्रै छपाइ सुरु गरिनेछ। ‘हाम्रो मेसिन हाइ–स्पिडका छन्, तोकिएको समयमै लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउँछौं,’ उनले भने।
छपाइपछि सबै डेटा मेटाइने र स्थायी रूपमा विभागकै प्रणालीमा रहने उनले स्पष्ट पारे।
तत्काल चाहिने लाइसेन्स पनि मुद्रण केन्द्रमै
विदेश जाने वा अत्यावश्यक कामका कारण तत्काल लाइसेन्स चाहिने व्यक्तिका लागि पनि मुद्रण केन्द्रले सेवा दिन्छ।
यसका लागि सेवाग्राहीले विभागमा निवेदन दिनुपर्नेछ, जसअनुसार दैनिक करिब ५ सय लाइसेन्स छापेर वितरण गरिँदै आएको विभागले जनाएको छ।
तर, गत २४ भदौको आगलागीपछि विभागको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। आगलागीबाट विभागको भवन ध्वस्त भएको र सर्भर जलेर नष्ट भएको थियो।
१८ हजार लाइसेन्स जले, तीन हजार मात्र सुरक्षित
विभागका निर्देशक खतिवडाका अनुसार विभागमा रहेका छपाइका मेसिन जलेका छन्।
आगलागीअघि विभिन्न कार्यालयमा पठाउन भनेर तयार पारिएका २२ हजार लाइसेन्समध्ये करिब १८ हजार जलेको अनुमान गरिएको छ।
‘तीन हजार मात्र सुरक्षित भेटिएका छन्,’ उनले बताए।
यद्यपि, छपाइका लागि ल्याइएका करिब ६ लाख कार्ड भने सुरक्षित फेला परेका छन्। तर ती कार्डमा प्रिन्टर मिल्ने–नमिल्ने जाँच हुन बाँकी छ।
सेवा पुनःसञ्चालनको तयारी
विभागले आइतबारदेखि सबै सेवा पुनःसञ्चालन गर्ने तयारी गरेको छ। शुक्रबार प्रणाली परीक्षण गरिएको र सोमबारदेखि नयाँ आवेदन, नवीकरण तथा ट्रायल सबै सुरु हुने निर्देशक खतिवडाले बताए।
‘अब सबै अवरुद्ध सेवा सञ्चालनमा आउँछन्,’ उनले भने।
अघिपछि सातै प्रदेशका ४२ यातायात व्यवस्था कार्यालयमार्फत दैनिक ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे।
त्यसमध्ये करिब ४ देखि ५ हजार सेवाग्राही ट्रायल पास गर्थे।
तर हाल आठ कार्यालयमा सेवा सञ्चालनमा अझै कठिनाइ रहेको विभागले जनाएको छ।
👉 मुख्य बुँदाहरू
-
२५ लाख बाँकी लाइसेन्समध्ये पहिलो चरणमा १२ लाख छपाइ सुरु
-
मुद्रण केन्द्रले ६ महिनाभित्र वितरण गर्ने
-
आगलागीबाट १८ हजार लाइसेन्स जले, ६ लाख कार्ड सुरक्षित
-
आइतबारदेखि विभागका सबै सेवा पुनःसञ्चालन










