गृहपृष्ठ भट्टराईको चेतावनी: तोकिएको समयमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्छ

भट्टराईको चेतावनी: तोकिएको समयमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्छ


कार्तिक १४, २०८२

१४ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै मुलुकलाई आगामी निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन्।

उनका अनुसार तोकिएको समयमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने जोखिम रहने भएकाले संविधानमै टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्छ।

भट्टराईले अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका कमजोरी सच्याउँदै यही सरकारबाट निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।
उनले भने, ‘अब जसरी पनि निर्वाचन गर्नैपर्छ। यदि निर्वाचन भएन भने देश अँध्यारो सुरुङमा फस्छ। त्यसैले सबै मिलेर यो अन्तरिम सरकारलाई सक्षम बनाउँदै छिटो चुनाव गराउनेतर्फ अघि बढ्नुपर्छ।’

उनले नेपालको संविधानलाई आधार मानेर वैकल्पिक राजनीतिक दलहरू—विशेषगरी रास्वपालगायतका समूहहरू—अगाडि बढ्नु नै उपयुक्त हुने उल्लेख गरे।
भट्टराईले भने, ‘अलग-अलग दल पनि संविधानअनुसार चुनावमा जान सक्छन्। रास्वपाका साथीहरू पनि एक्लै प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छन्।’

भ्रष्टाचार नियन्त्रणका लागि उनले सम्बन्धित निकायहरूलाई सशक्त बनाउँदै पारदर्शी शासन प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु