गृहपृष्ठ गोंगबु छापामारी : करोडौं नगद र सुन बरामद, मिटरब्याजीको धन्दा पर्दाफास
गोंगबु छापामारी : करोडौं नगद र सुन बरामद, मिटरब्याजीको धन्दा पर्दाफास
१८ भदौ २०८२
काठमाडौं ।प्रहरीले आफ्नै घरमा लुकाइराखिएको अवस्थामा बरामद गरेको रकम चार करोड २५ लाख रुपैयाँ रहेको पुष्टि भएको छ।
मंगलबार साँझ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित घरमा छापा मार्दा ठूलो मात्रामा नगद भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा सो रकम भएको खुला उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए।
यसै क्रममा प्रहरीले ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदीका गरगहना पनि बरामद गरेको छ। रकम र सुनचाँदीसहित प्रहरीले गोरखा बजार बस्ने ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठ लामो समयदेखि मिटरब्याजी धन्दामा संलग्न रहेर सुन धितो राखेर अवैध लेनदेन गर्ने गर्थे।
एसएसपी खनालले भने, “प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिएको छ। सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको प्रमाण भेटिएको छ।”
प्रहरीलाई ठूलो मात्रामा अवैध रकम लुकाएको सूचना प्राप्त भएपछि गरिएको छापामारीमा श्रेष्ठ पक्राउ परेका हुन्।








