गृहपृष्ठ संघ–प्रदेश–स्थानीय समन्वय बलियो भए मात्र विकास सम्भव : मुख्यमन्त्री कँडेल
संघ–प्रदेश–स्थानीय समन्वय बलियो भए मात्र विकास सम्भव : मुख्यमन्त्री कँडेल
२०८२ भदौ १६
सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको लक्ष्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन्।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सोमबार सम्बोधन गर्दै उनले सहकार्य र समन्वयलाई मजबुत बनाउन सके मात्र संघीयताको मर्मअनुसारको उपलब्धि हासिल हुने स्पष्ट पारे। 
उनका अनुसार संघ र प्रदेशले नीति तथा योजना निर्माण गरे पनि कार्यान्वयनको वास्तविक आधार स्थानीय तह हुने भएकाले समन्वयलाई प्राथमिकतामा राख्नु अपरिहार्य छ।
कर्मचारी प्रशासनतर्फ संकेत गर्दै मुख्यमन्त्री कँडेलले केवल समस्या देखाउने होइन, त्यसको समाधानका व्यवहारिक उपाय खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेमा जोड दिए।
उनले भने, “समस्या देखाउन सजिलो हुन्छ, तर समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ। विधि र कानुनको पालना सबैको कर्तव्य हो।”
प्रदेश सरकारले सुरु गरेका योजनालाई स्थानीय तहले अनुसरण गर्नु पर्ने उनले उल्लेख गरे। विगतका अनुभव र तजबिजीका आधारमा मात्र योजना छनोट गर्ने परम्परालाई सुधार्दै अघि बढ्नु पर्ने उनले औंल्याए।
संघीय व्यवस्था प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो।








