गृहपृष्ठ माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट

माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट


२०८२ वैशाख २२ गते

काठमाडौं — नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमा करिब एक करोड जनतासँग प्रत्यक्ष भेट, संवाद र अन्तरक्रिया भएको दाबी गरेको छ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, अभियानले अपेक्षा गरेभन्दा बढी जनसहभागिता बटुलेको छ। जनसमुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पार्टीभित्र उत्साह र ऊर्जा सिर्जना भएको बताउँदै उनले अभियानको समीक्षा सकारात्मक निष्कर्षसहित सम्पन्न भएको जनाए।

“अभियानले राष्ट्रिय एकता सुदृढ गर्नुका साथै नेपाली समाजको सामाजिक–आर्थिक यथार्थको गहिरो अध्ययन र अन्वेषणका लागि बलियो आधार तयार गरेको छ,” सापकोटाले भने। “नयाँ संस्कार, संस्कृति र सभ्यताको अभिव्यक्तिसँगै नेपाली समाजवादको मार्गचित्र समेत देखिएको छ।”

सापकोटाले अभियानले माओवादी पार्टीभित्र रूपान्तरणको शक्तिशाली भावनाको जागरण गराएको दाबी गर्दै, समाजवादी विचारधाराको नयाँ प्रस्थानबिन्दुको रूप लिएको बताए। “नेता र कार्यकर्तामा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको चेतना विकास हुँदै गएको छ भने पार्टीप्रति जनताको सकारात्मक झुकाव गहिरिंदै गएको छ,” उनले थपे।

उनका अनुसार, अभियानका क्रममा शहीद, बेपत्ता तथा घाइते योद्धाका परिवारसँग संवाद र सहानुभूति व्यक्त गरिएको छ, जसले पीडित वर्ग र पार्टी कार्यकर्तामा उत्साह थपेको छ।

अभियानले हुलाकी मार्गको विकास र महत्वप्रति जनसाधारणको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले भने, “पार्टी विचार मात्र होइन, व्यवहारमै जनसमुदायमा स्थापित भएको अनुभूति गरिएको छ।”

प्रवक्ताका अनुसार, अभियानको दौरान हजारौंले पार्टीमा प्रवेश गरेका छन्। “यो जनआकर्षण र ऊर्जालाई संगठनमा रुपान्तरण गर्नु अहिलेको मुख्य कार्यभार हो,” उनले भने।

पार्टीले अब आगामी दिनमा मध्य पहाडी लोकमार्गलाई केन्द्रमा राखेर अर्को चरणको अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिइयो।

गत वर्ष फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको यो अभियान वैशाख १७ गते कञ्चनपुरमा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु