गृहपृष्ठ रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन
जेठ ३१ ,२०८३
कल्पना घिमिरे
रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघिको प्रदेश समितिका उपसभापति थिए।
हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदान गर्ने तयारी भए पनि अन्ततः सहमतिमार्फत शालिकरामलाई सभापतिमा निर्वाचित गरिएको लुम्बिनी प्रदेश विभागीय प्रमुख गुनाराम घिमिरेले जानकारी दिए।
पहिलो चरणको मतदानमा रूपन्देहीका शालिकराम घिमिरेले १९९ मत प्राप्त गर्दै अग्रता कायम गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत प्राप्त गरे। त्यसैगरी रूपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रूपन्देहीकी मञ्जु भुसालले ७१ मत तथा रूपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। निर्वाचनमा कुल ५५२ मत खसेको थियो।
यसैबीच, प्रदेश अधिवेशनबाट विभिन्न क्षेत्रीय र समावेशी क्लस्टरतर्फका सदस्यहरू पनि निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा रूपन्देही–१ बाट विष्णु पौडेल, रूपन्देही–२ बाट निरू भट्टराई, रूपन्देही–३ बाट माया खनाल, रूपन्देही–५ बाट पार्वती ढकाल, पाल्पा–२ बाट दुर्गा अर्याल तथा मधेसी क्लस्टरतर्फ रूपन्देही–१ का सञ्जय गुप्ता निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठन सुदृढीकरण, प्रदेशस्तरीय गतिविधि विस्तार तथा आगामी राजनीतिक कार्यदिशालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।













