गृहपृष्ठ विद्यार्थी प्रिसा साहको मृत्यु प्रकरण : सभामुख घिमिरेद्वारा भारतसँग उच्च तहको संवादको निर्देशन
विद्यार्थी प्रिसा साहको मृत्यु प्रकरण : सभामुख घिमिरेद्वारा भारतसँग उच्च तहको संवादको निर्देशन
२२ वैशाख, काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाबारे भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएपछि सभामुख घिमिरेले सरकारलाई रुलिङ जारी गरेका हुन्। उनका अनुसार, साह झुण्डिएको अवस्थामा मृत भेटिएको घटनाले संसदको गम्भीर ध्यानाकर्षण गराएको छ
“उज्वल भविष्यका सपना बोकेर विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्यु राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो,” सभामुख घिमिरेले संसदमा भने।
उनले सरकारले घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउनेतर्फ भारत सरकारसँग उच्च तहको कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, मृतक परिवारलाई आवश्यक न्यायिक सहयोग प्रदान गर्न समेत निर्देशन दिए।
सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न पनि सरकारसँग अपिल गरेका छन्।








