१७ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी र मुस्लिम समुदायमाथि अन्याय र दमन भइरहेको आरोप लगाएका छन्।
बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि उनलाई भेट्न डिल्लीबजार कारागार पुगेका डा. राउतले सरकारको कदमलाई अलोकतान्त्रिक भनेका हुन्।
‘कार्यक्रम सुरु हुनुअघि नै पक्राउ गर्नु त कुनै विधिसम्मत प्रक्रिया होइन। दुई-चार दिनअगावै जानकारी दिन सकिन्थ्यो। आजै सर्वोच्च अदालतबाट पत्र लेखिएको थियो। कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसकेका थिए। यस्तो त हुँदै होइन — हामीले आफ्ना अधिकार माग्न पनि नपाउने, बोल्न नपाउने, पार्टी खोल्न नपाउने, एकीकरण गर्न नपाउने, बलियो बन्न नपाउने — यस्तो अलोकतान्त्रिक व्यवहार सह्य छैन,’ राउतले भने।
उनका अनुसार, कार्यक्रमको पूर्वसन्ध्यामा पक्राउ गर्नु सरकारको दमनकारी शैलीको संकेत हो। उनले अधिकारको माग गर्न नपाउनेजस्तो व्यवहार आपत्तिजनक रहेको बताए।
‘यस्तो व्यवहार परास्त गर्न हामी पार्टी एकता गरेरै अगाडि बढ्छौं,’ उनले स्पष्ट पारे। ‘जनताले हेरेका छन्, घटनास्थलमै किन पक्राउ गरियो भन्ने प्रश्न उठिरहेको छ।’
राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम समुदायमाथि भइरहेको दमन तत्काल अन्त्य गर्न सरकारलाई चेतावनीसमेत दिए।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच पार्टी एकता गर्ने कार्यक्रम आज प्रज्ञा भवनमा तय भएको थियो। तर कार्यक्रम सुरु हुनु अघिनै रेशम चौधरीलाई पक्राउ गरिएको हो। उनलाई हाल डिल्लीबजार कारागारमा राखिएको छ।










