गृहपृष्ठ राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड
राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड
काठमाडौं — सर्वोच्च अदालतको मुद्दा शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न आदेशसम्बन्धी पत्र काटेको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार, विष्टले टीकापुर घटनामा ज्यान गुमाएका व्यक्तिहरूको आत्माले आफूलाई पत्र लेख्न बाध्य पारेको भन्ने खालको बयान दिएका छन्।
विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा कार्यरत थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दिइएको आममाफीको निर्णयलाई उल्ट्याउने गरी पत्र लेखेका थिए। सोही पत्रको आधारमा रेशम चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार दिउँसो चौधरी जनमत पार्टीसँगको एकता घोषणाका लागि आयोजित कार्यक्रममा सहभागी हुन गएका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो।










