गृहपृष्ठ दमनप्रति आक्रोशित गगन थापा : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेसले सत्ता त्याग्नुपर्छ’
दमनप्रति आक्रोशित गगन थापा : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेसले सत्ता त्याग्नुपर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुनुपर्ने अडान सार्वजनिक गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले हालको घटनाक्रमलाई ‘असह्य र अमानवीय’ भन्दै पार्टीलाई कुनै हालतमा दमनकारी सरकारको साझेदार भएर बस्न नहुने स्पष्ट गरेका छन्।
थापाले लेखेका छन्, “कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस तत्काल सरकारबाट फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।” उनले देशभरका नागरिक रातभर निदाउन नसकेको र निर्दोष युवाहरूको मृत्युले सम्पूर्ण समाज आक्रान्त भएको जनाएका छन्। “अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ,” भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गर्दै तत्काल पदत्याग गर्न आग्रह गरेका छन्।
पार्टीभित्र दबाब
थापाको यो अभिव्यक्ति केवल व्यक्तिगत भावनात्मक प्रतिक्रिया मात्र नभई कांग्रेसभित्र बढ्दो असन्तोषको संकेतका रूपमा पनि व्याख्या गरिएको छ। हालैको जेन-जी आन्दोलनका क्रममा भएको प्रहरी दमनपछि कांग्रेस नेतृत्वमाथि आलोचना तीव्र बन्दै गएको छ। कांग्रेसका कतिपय नेताहरूले सरकारमा रहिरहनु पार्टीको इतिहास, सिद्धान्त र सडकमा देखिएको जनभावनाविरुद्ध हुने तर्क अघि सारिरहेका छन्।










