गृहपृष्ठ जेन–जीको आन्दोलनमा १९ को मृत्यु : सुरक्षा चुनौतीप्रति सरकार बेवास्ता, विपक्षी आक्रोश
जेन–जीको आन्दोलनमा १९ को मृत्यु : सुरक्षा चुनौतीप्रति सरकार बेवास्ता, विपक्षी आक्रोश
भाद्र २४, २०८२
काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार उत्रिएको जेन–जी आन्दोलनमा १९ जनाको ज्यान गएको छ । सुरक्षात्मक व्यवस्थापनमा सरकार पूर्ण असफल भएको विपक्षी दल मात्र होइन, सत्तारूढ पार्टीभित्रैबाट पनि आलोचना भएको छ । नेताहरूले जेन–जी पुस्ताको असन्तुष्टि सम्बोधन गर्ने अवसर हुँदाहुँदै दमनकारी नीति रोजिएकै कारण यो रक्तपात भएको टिप्पणी गरेका छन् ।
जेन–जीले पछिल्ला केही सातादेखि सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, शक्ति दुरुपयोग र नेताका सन्तानको विलासी जीवनशैलीप्रति आक्रोश पोख्दै आएका थिए । ‘नेपो किड’ र ‘नेपो बेबिज’ जस्ता ट्रेन्डिङ ह्यासट्यागले तिनको असन्तुष्टि अझ व्यापक बनाएको थियो । यस्तैमा सरकारले ‘दर्ता नभएका’ भन्दै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जीको आक्रोश सडकमा विस्फोट भएको हो ।
तर, असन्तुष्टि सम्बोधन गर्नुको सट्टा प्रधानमन्त्रीदेखि उच्च अधिकारीसम्मले आन्दोलनलाई हेला गर्दै खिल्ली उडाउने शैली अपनाएका थिए ।
प्रधानमन्त्रीको खिल्ली
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टीको विधान महाधिवेशनको बन्दसत्रमा जेन–जी आन्दोलनलाई बाहिरबाट उक्साइएको भन्दै अभिव्यक्ति दिएका थिए ।
‘जेन–जी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ ? उनीहरू अलि बुझ्दैनन् होला, अलि आलोकाँचो होलान्,’ भन्दै उनले सोमबार हुने भनिएको आन्दोलनलाई नै व्यर्थको प्रयासको संज्ञा दिएका थिए ।
त्यति मात्र होइन, सामाजिक सञ्जाल बन्दको विरोध गरेका बुद्धिजीवीलाई समेत उनले अपमानजनक शैलीमा प्रहार गरे । ‘नेपालका ठूला बुद्धिजीवी स्वतन्त्र छैनन्, स्वतन्त्र सोच्न सक्दैनन्,’ भन्दै उनले बुद्धिजीवी वर्गलाई ‘बौद्धिक दिवालिया’ को संज्ञा दिए ।
प्रधानमन्त्रीको अभिव्यक्ति, ठट्टा र व्यंग्यले जेन–जी पुस्तालाई थप उत्तेजित बनाएको विपक्षीहरूको टिप्पणी छ ।
बुद्धिजीवीप्रति अपमान
ओलीले पत्रकारिता र विज्ञहरूको आलोचनात्मक दृष्टिकोणलाई समेत लक्षित गर्दै ‘म्यासेन्जरमाथि नियन्त्रण गरेर म्यासेज बुझ्न नसक्ने’ शैली बौद्धिक दिवालियापन भएको आरोप लगाए ।
यो टिप्पणी कांग्रेस नेता मीनेन्द्र रिजालले कान्तिपुर दैनिकमा दिएको अभिव्यक्तिलाई लक्षित थियो ।















