गृहपृष्ठ भैरहवामा विद्युत कटौतीविरुद्धको सभामा बोल्दा बाेल्दै जिफन्ट उपाध्यक्षको अकस्मात निधन

भैरहवामा विद्युत कटौतीविरुद्धको सभामा बोल्दा बाेल्दै जिफन्ट उपाध्यक्षको अकस्मात निधन


कार्तिक १३, २०८२

रुपन्देही । नेपाल विद्युत प्राधिकरणद्वारा गरिएको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित विद्युत कार्यालय अगाडि विरोधसभामा बोल्दै गर्दा अचानक बेहोस भएका गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिए ।

बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा बसेको बैठकमा गौतमले संस्थागत रूपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए । त्यसको क्रममा बिहीबार आयोजित धर्ना कार्यक्रममा उनले उद्योगहरूलाई सरकारले योजनाबद्ध रूपमा फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आग्रह गरेका थिए ।

उनी निकै आक्रोशित मुद्रामा बोलिरहेका बेला ‘श्रमिकहरूलाई गुमाउन चाहन्नौं, अतः यो कारणले…’ भन्दै गर्दा अचानक ढलेका थिए । उनलाई तुरुन्तै उद्योगी व्यवसायीहरूले गाडीमा राखी अस्पताल पुर्‍याएका थिए । बोहराका अनुसार करिब १२ मिनेटमै अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले बचाउन सकेनन् ।

६२ वर्षीय गौतमका श्रीमती र दुई छोरा रहेका छन् । बुटवलको  ज्योतिनगरका
स्थायी बासिन्दा रहेका उनले दुई दिनअघि मात्रै काठमाडौंबाट फर्केर रुपन्देहीमा सुरु भएको आन्दोलनको नेतृत्व लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु