गृहपृष्ठ प्रकाश सपूतको प्रस्तुतिले बुटवल मण्डप तात्यो
प्रकाश सपूतको प्रस्तुतिले बुटवल मण्डप तात्यो
पुस १६, २०८२
पछिल्ला केही वर्षदेखि नेपाली सांगीतिक आकाशमा निरन्तर चम्किरहेका लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतसँग मंगलबार राति बुटवलका सांस्कृतिक प्रेमीहरू झुम्मिए। रुपन्देही उद्योग संघद्वारा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव अन्तर्गत बुटवल मण्डपमा भएको कार्यक्रममा उनले करिब दुई घण्टासम्म दर्शकलाई भरपुर मनोरञ्जन दिए।
केही दिनयता शीतलहरका कारण चिसो बढेको भए पनि बुटवल मण्डपको प्रांगण साँझदेखि रातिसम्म खचाखच भरिएको थियो। चिसोलाई बेवास्ता गर्दै दर्शकहरू सपूतका लोकप्रिय गीतमा नाचे र गाए। पाका पुस्तादेखि युवा पुस्तासम्मलाई समेट्ने गीत र प्रस्तुतीका कारण माहोल निकै उत्साहजनक बनेको थियो।
बुटवलसँग आफ्नो पुरानो सम्बन्ध रहेको र यो स्थान कला–संस्कृतिको आधार क्षेत्र भएकाले यहाँ प्रस्तुति दिन पाउँदा खुसी लागेको सपूतले मञ्चबाट बताएका थिए। हरेक प्रस्तुतीमा विशेष ड्रेसअप र सहकर्मी कलाकारको टोलीसहित प्रस्तुत भएका उनले दर्शकलाई गीत गाउन, नाच्न र देशप्रेम तथा सद्भावको सन्देश दिनसमेत प्रेरित गरे। विभेदविरुद्ध एकजुट हुन र नेपाली गीत–संगीतलाई माया गर्न उनले आग्रह गरे।
कार्यक्रममा सपूतले ‘गलबन्दी’, ‘बोल माया’ र ‘बदला बरी लै’ जस्ता चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाएका थिए। पछिल्लो समय उनका गीतहरू नेपाली श्रोताको ओठ–ओठमा झुन्डिन थालेको देखिन्छ।
मञ्चमै बोल्दै सपूतले आफूले गरेका सिर्जनात्मक प्रयासका कारण आलोचना पनि खेप्नुपरेको उल्लेख गर्दै त्यसप्रति सजग भएर अघि बढिरहेको बताए। छोटो समयमै सांगीतिक क्षेत्रमा प्रभावशाली उपस्थिति जनाएका सपूतको लोकप्रियता बुटवलमा देखिएको दर्शकको साथले प्रष्ट पारेको सहभागीहरूले बताएका छन्।
सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालका अनुसार प्रदर्शनी अवधिभर सहभागी अधिकांश कलाकारलाई दर्शकले यस्तै उत्साहजनक साथ दिएका छन्। मूल समिति संयोजक कृष्ण पराजुलीले प्रदर्शनी बिहीबार दिउँसो समापन हुने जानकारी दिए।














