गृहपृष्ठ नोरा फतेहीको बेजोड प्रस्तुति काठमाडौंमा, एक करोड १० लाख भारु पारिश्रमिकमा नेपाल आएकी थिइन्
नोरा फतेहीको बेजोड प्रस्तुति काठमाडौंमा, एक करोड १० लाख भारु पारिश्रमिकमा नेपाल आएकी थिइन्
जेठ ७ काठमाडौं — चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले शनिबार राजधानी काठमाडौंमा भव्य प्रस्तुति दिएकी छन्। ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकको उक्त कार्यक्रम तारागाउँस्थित ह्यात चौरमा सम्पन्न भएको थियो, जहाँ हजारौं दर्शकहरूले उनको नृत्य अवलोकन गरेका थिए।
कार्यक्रममा नेपाली कलाकार र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। अभिनेत्री फतेहीले नेपाली कोरियोग्राफर गौरव सिटौलासँग गरेको विशेष नृत्यले झनै कार्यक्रमको आकर्षण बढाएको थियो।
आयोजक स्रोतका अनुसार, नोरा फतेहीलाई नेपाल ल्याउन एक करोड १० लाख भारतीय रुपैयाँ (अन्दाजी एक करोड ७६ लाख नेपाली रुपैयाँ) पारिश्रमिक दिइएको हो। “सामाजिक संस्थाका लागि आयोजना गरिएको कार्यक्रम भएकाले कम पारिश्रमिकमै सहमति भयो,” स्रोतले जानकारी दियो, “सामान्य अवस्थामा यो सम्भव हुने थिएन।”
उक्त च्यारिटी कार्यक्रम सामाजिक संस्था ह्युमन रेस्पेक्ट नेपालको सहयोगार्थ आयोजना गरिएको थियो, जुन संस्था शिक्षा अभावमा रहेका बालबालिकाहरूको क्षेत्रमा काम गरिरहेको छ।
कार्यक्रमका आयोजक *वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रा.लि.*का मनीष कार्कीका अनुसार यस कार्यक्रममा नोरा फतेहीको सहभागिताले सामाजिक उत्तरदायित्व मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव परेको छ। “भारतका ठूला मिडियामा यसबारे समाचार प्रकाशित भएपछि अन्तर्राष्ट्रियस्तरमै नेपालको चर्चा बढेको छ,” उनले बताए।
नोरा फतेहीसँगै उनको २३ सदस्यीय नृत्य टोली पनि नेपाल आएको थियो। कार्यक्रमको व्यवस्थापन *मनु मिडिया प्रा.लि.*ले गरेको हो।
‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, र ‘स्नेक डान्स’ जस्ता हिट गीतहरूबाट चर्चित फतेहीको नृत्य नेपालमा पनि लोकप्रिय रहेको छ।
उनको प्रस्तुति सहितको कार्यक्रममा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजामगर, र नृत्यकार समर्पण लामालगायत थुप्रै नेपाली कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए।
।













