गृहपृष्ठ फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा
फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा
भाद्र २२, २०८२
काठमाडौँ — फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग नाम मिलेकै कारण अमेरिकी वकिल मार्क एस जुकरबर्ग अहिले चर्चामा छन्। इन्डियानामा बसोबास गर्ने वकिल जुकरबर्गले फेसबुकमाथि मेटा विरुद्ध मुद्दा दायर गरेका छन्। उनी दाबी गर्छन् कि पछिल्लो आठ वर्षमा उनको खाता पाँच पटक ब्लक गरिएको थियो।
वकिल जुकरबर्गले खाता ब्लक हुँदा आफूले ठूलो आर्थिक नोक्सान बेहोरेको बताए। उनले बताए, “फेसबुकले मेरो खाता बारम्बार निलम्बन गर्दा मेरो व्यावसायिक जीवनमा नराम्रो असर प¥यो र मैले हजारौं डलरको कमाई गुमाएँ। मेरो पेशासँग सम्बन्धित विज्ञापनहरू हटाइयो।”
मार्क एस जुकरबर्गले आफ्नो वास्तविक पहिचान प्रमाणित गर्न फेसबुकलाई फोटो आईडी, क्रेडिट कार्ड र धेरै तस्बिरहरू पठाए। उनले भने, “मेरो नाम फेसबुकका संस्थापक मार्क जुकरबर्ग प्रसिद्ध हुनु अघि पनि उही थियो, तर फेसबुकले विश्वास गरेन।”
मेटाले यस विषयमा गल्ती स्वीकार गर्दै माफी मागेको छ र ब्लक गरिएको खाता पुनर्स्थापित गरिएको छ। कम्पनीले भनेको छ, “हामी मार्क जुकरबर्गको धैर्यताको कदर गर्छौं र भविष्यमा यस्तो गल्ती हुनबाट रोक्न काम गरिरहेका छौं।”
यसो हुँदा, वकिल जुकरबर्गले आफ्नो समस्या सार्वजनिक गर्न एउटा वेबसाइट पनि बनाएका छन्, जसमा उनले आफ्नो नामका कारण आएका चुनौतीहरू र अन्य अनुभवहरू उल्लेख गरेका छन्।









