गृहपृष्ठ कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो

कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो


आश्विन २७, २०८२

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछि सारिए पनि छलफलका लागि तयार पारिने साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन।

आइतबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो। पार्टीमा प्रचलित परम्परा अनुसार, केन्द्रीय समितिमा पेश हुने एजेण्डा शीर्ष तहमा सर्वसम्मत् बनाएर मात्रै प्रस्तुत गर्ने तयारी भइरहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए।

उनका अनुसार कार्यसम्पादन समितिको बैठक पनि मंगलबार बिहानका लागि स्थगित गरिएको छ।

पार्टीभित्र अहिले मंसिरभित्र नियमित महाधिवेशन गर्ने कि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल एक वर्ष थप्ने भन्ने विषयमा गम्भीर मतभेद देखिएको छ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्षधर नेताहरू मंसिरभित्र नै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। थापाले ‘मंसिरमा महाधिवेशन गर्न मज्जाले सकिन्छ’ भन्दै तयारी तत्काल सुरु गर्नुपर्ने बताएका छन्।

तर संस्थापन पक्षका नेताहरूले भने चुनावी तयारीका कारण मंसिरभित्र महाधिवेशन गर्न नसकिने धारणा राखेका छन्। देउवा नेतृत्वको चार वर्षे कार्यकाल यही मंसिरमा समाप्त हुँदैछ, जसलाई थप एक वर्ष बढाउने अधिकार केन्द्रीय समितिसँग छ।

महामन्त्री थापाले भने कार्यकाल थप्ने एजेण्डा प्रस्तुत नगर्ने स्पष्ट अडान लिएका छन्। उनका निकट नेताहरूका अनुसार, ‘अब यो प्रस्ताव पारित गर्ने वा अस्वीकृत गर्ने निर्णयमै पुग्नुपर्छ।’

यता, विशेष महाधिवेशनका पक्षधर नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन नभए तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने माग अघि सारेका छन्। यसका लागि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भइरहेको र मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी गरिएको केन्द्रीय सदस्य मधु आचार्यले जनाएका छन्।

तर, वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनले पार्टी फुटको जोखिम बढाउने चेतावनी दिएका छन्। उनले लोकतान्त्रिक पार्टीभित्र बहुमतको दबाबमा पार्टी विभाजन हुने अवस्था नआओस् भनेर सतर्क रहनुपर्ने बताएका छन्।

कांग्रेसभित्रको यो विवाद चुनावी टिकट वितरणको आन्तरिक शक्ति संघर्षसँग पनि जोडिएको विश्लेषण गरिएको छ। कार्यसम्पादन समितिका एक सदस्यका शब्दमा — “दुवै पक्षको अडानको जड पार्टीमा आगामी चुनावमा टिकट बाँड्ने अधिकार कसको हुने भन्ने हो, त्यसैले यो द्वन्द्व छिट्टै समाधान हुने देखिँदैन।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु