गृहपृष्ठ एमाले विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने
एमाले विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने
भदौ १३ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । त्यसपछि १९ वा २० गते बैठक बस्ने भनिए पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट १८ गतेमात्र फर्किने भएकाले अब बैठक नबस्ने पक्का भएको हो ।
यसको साटो १९ गते केन्द्रीय सचिवालय बैठक बस्ने र राजनीतिक, सांगठनिक, विधान संशोधनलगायतका प्रतिवेदन महाधिवेशनमा पठाउने तयारी भएको छ ।
भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनमा २ हजार ३५० प्रतिनिधि सहभागी हुनेछन् । यसअघि दसौँ महाधिवेशनका प्रतिनिधिहरूमध्ये मृतक, पार्टी छोडेकाहरू वा कारबाहीमा परेकाहरूलाई हटाइएको छ । नयाँ प्रतिनिधि थप्ने व्यवस्था भने छैन ।
महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ । उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्ने छन् ।









