गृहपृष्ठ मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै, प्रचण्डले सम्बोधन गर्ने
मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै, प्रचण्डले सम्बोधन गर्ने
बुटवल । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौ राष्ट्रिय सम्मेलन बुटवल हुने भएको छ । बुधबार बुटवलको ट्राफिक चोकमा हुने सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने मोर्चाले जनाएको छ । सम्मेलनको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष गणेश सलामी मगरले ‘मगर भाषा, संस्कृति र मगराँत भूमी हाम्रो शान ! समता, समृद्धि र सुशासनको लागि पूर्ण समानुपातिक निर्वाचन !!’ भन्ने नारासहित फागुन २८ र २९ गते सम्मेलन आयोजना गरिएको बताए ।’सम्मलेनको तयारी पुरा भएको छ ।’ अध्यक्ष सलामीले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल प्रचण्ड’ बाट राष्ट्रिय सम्मेलनको विधिवत समुद्घाटन हुनेछ।’आदिवासी मगर सांस्कृतिक परम्परा अनुसार र्याली सहित उद्घाटन हुने सम्मेलनमा पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनमगर ‘अनन्त’, उपमहासचिव जनार्दन शर्मा प्रभाकर, सचिव चक्रपाणी खनाल ‘बलदेव’, स्थायी समिति सदस्य एवं आदिवासी जनजाति संयुक्त मोर्चाका इन्चार्ज तथा पूर्व सभामुख ओनसरी घर्तीमगर, आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक तथा मगर मोर्चाका इन्चार्ज सुरेश आलेमगर लगायतको उपस्थित हुने मोर्चाले जनाएको छ ।
उद्घाटन समारोहमा माओवादी पार्टीको सम्पूर्ण पदाधिकारी सहित सिंगो हेडक्वाटरले उपस्थिति जनाउने मोर्चाको बन्द सत्र दरबार लन पार्टी प्यालेसमा हुनेछ । बन्द सत्रमा ७ प्रदेश र विदेश विभागबाट गरि जम्मा एक हजार पाँच सय जना प्रतिनिधि र प्रवेक्षकको सहभागिता हुने जनाइएको छ ।
राष्ट्रिय सम्मेलनले मगर भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सैद्धान्तिकरुपमा आत्मनिर्णयको अधिकार, मगराँत स्वायत्त प्रदेशको स्थापनासंगै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि खबरदारी गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोकामगरले बताए ।










