गृहपृष्ठ कलाक्षेत्रमा आकर्षण बढ्दै: प्रधानमन्त्रीसम्मले दिए पूर्वनवयुवराजलाई अभिनयको सल्लाह

कलाक्षेत्रमा आकर्षण बढ्दै: प्रधानमन्त्रीसम्मले दिए पूर्वनवयुवराजलाई अभिनयको सल्लाह


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई राजनीति होइन, कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्।

वैशाख १७, २०८२

बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई राजा बन्ने सपना नदेख्न चेतावनी दिएका हुन्।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्र शाहलाई आकर्षक अनुहार भएको भन्दै फिल्म क्षेत्रमा आउन सुझाव दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना बढेको थियो।

प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा धारणा राखेको कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए। साथै, समाजमा बढ्दो विकृति हटाउन कलाकारहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरे।

ओलीले भने, “सुरक्षा पन्तजस्तो कलाकारले राम्ररी भनेकी छन् — राम्रो अनुहार छ, कला क्षेत्रमा लागे राम्रो हुन्छ। त्यसमा रिसाउने र गाली गर्ने कुरा के छ? म पनि सुझाव दिन्छु, हृदयेन्द्रले कलाकारितामा लागे राम्रो हुन्छ। तर यदि राजा बन्ने सपना देखे भने, त्यो केवल सपना मात्रै रहन्छ।”

प्रधानमन्त्रीले कलाकार बहिष्कार गरे केही फरक नपर्ने भन्दै कलाकारहरूलाई आफ्नो काममा निरन्तर लागिरहन सुझाव पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु