गृहपृष्ठ देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत
देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत
माघ २१, २०८२
काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ गरिएका छन्। आजैदेखि देशभरका विमानस्थल र कारागार कार्यालयको सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको छ। ती स्थानमा नियमित रूपमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष ड्युटी भने निरन्तर जारी रहनेछ।
त्यस्तै, देशभरका प्रमुख सडकहरूमा पनि सेनाले गस्ती सुरु गरेको छ। विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती सञ्चालन गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
मतदान केन्द्र र मतगणनास्थलको सुरक्षाका लागि भने केही समयपछि मात्रै सेना परिचालित हुने जनाइएको छ। ती स्थानमा नेपाल प्रहरी पहिलो घेरा र सशस्त्र प्रहरी दोस्रो घेरामा तैनाथ हुनेछन् भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिनेछ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएपछि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए।










