गृहपृष्ठ कांग्रेस नेता रिजालको टिप्पणी: सामाजिक सञ्जाल बन्द गर्नु हत्केलाले सूर्य रोक्ने जस्तो काम
कांग्रेस नेता रिजालको टिप्पणी: सामाजिक सञ्जाल बन्द गर्नु हत्केलाले सूर्य रोक्ने जस्तो काम
भाद्र २२, २०८२
काठमाडौँ — कांग्रेस नेता मीनेन्द्र रिजालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई हत्केलाले सूर्य रोक्ने जस्तो काम भएको टिप्पणी गरेका छन्। कान्तिपुरसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल बन्द गरेपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) डाउनलोड गर्नेको संख्या बढेको र त्यसले नयाँ जोखिम सिर्जना गर्न सक्ने बताए। “नागरिकलाई एउटा बाटो रोकेर अर्को बाटोतर्फ धकेल्नु उचित हुँदैन। त्यही नै गर्न खोजिएको हो भने, जसरी चीनले नियन्त्रण गरेर लिएर हिँडेको छ, त्यो बाटोमा जान सक्ने नेपालको प्रशासकीय क्षमता छैन,” उनले भने।
रिजालले सामाजिक सञ्जालका चुनौतीलाई बुझेर व्यवसाय र सरकार बीच संवाद आवश्यक भएको बताए। उनले भने, सरकारले जनताको म्यासेज सुन्नुका सट्टा म्यासेन्जरमाथि आक्रमण गर्ने काम गरेको छ। “नयाँ प्रविधिका यी–यी प्लेटफर्म छानेर लिन्छु, यी–यी लिन्नँ भनेर सैद्धान्तिक रूपमा भन्न सकिँदैन। व्यावहारिक रूपमा सम्भावना छैन। त्यसैले सरकारले जुन ‘भर्चुअल वाल’ खडा गरेको छ, त्यसलाई ‘भर्चुअल्ली’ कसैले पनि ब्रेक गर्न सक्छ। सामाजिक सञ्जाल जस्ता माध्यम बन्द गर्नु हुँदैन,” उनले जोड दिए।
उनले व्यक्त विचार मन नपरे पनि सामाजिक सञ्जाललाई दण्डित गर्ने वा रोक्ने प्रयास लोकतन्त्रको आधार बलियो बनाउन सक्दैन भने। उनले भने, “रिस उठेका बेलामा शासन प्रयोग गर्नु हुँदैन। सामाजिक सञ्जाल खुला राख्नुपर्छ। व्यवसायलाई व्यावसायिक ढंगले सम्बोधन गर्नुपर्छ, कर तिर्नुपर्छ, दर्ता गर्नुपर्छ, तर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता रोक्नका लागि अन्य बहाना प्रयोग गर्नु हुँदैन। त्यो गलत हुन्छ।”
रिजालको यस अभिव्यक्तिले सरकारले सामाजिक सञ्जाल नियमन गर्ने तर नागरिक स्वतन्त्रता र अभिव्यक्तिमा सीमितता लगाउने नीति प्रति विरोधको स्वर उठाएको देखाउँछ। उनका अनुसार, प्रविधि र प्लेटफर्मको व्यवहारिक समाधान खोज्नुपर्ने हो, नागरिकलाई दबाब वा रोक लगाएर होइन।
यसै सन्दर्भमा, सरकारले विगत केही समयदेखि सामाजिक सञ्जाल नियमन र VPN प्रयोग नियन्त्रणको योजना अघि बढाएको थियो। तर रिजाल लगायतका विश्लेषकले यसले केवल असफल नियन्त्रण प्रयास मात्र हुने र नयाँ चुनौती थप्ने बताएका छन्।









