गृहपृष्ठ जेनजी पुस्ताको सामाजिक आन्दोलनले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
जेनजी पुस्ताको सामाजिक आन्दोलनले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
भाद्र २२, २०८२
सोमबार (सेप्टेम्बर ८) माइतीघर मण्डलामा हुने भनिएको विरोध प्रदर्शनमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउने जनाइएको छ। सामाजिक सञ्जालमा यस आन्दोलनप्रति व्यापक समर्थन देखिएको छ।
फेसबुक लगायत केही सामाजिक सञ्जालमा प्रतिबन्ध भए पनि टिकटकमा आन्दोलनसम्बन्धी भिडियो भाइरल भइरहेका छन्। ती भिडियोमा भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द गरेर लाखौंको आम्दानी रोकिएको र सरकारविरुद्ध आक्रोश फैलाइएको छ। कैयौं ‘कन्टेन्ट क्रियटर’ ले पनि आन्दोलनको समर्थन गरेका छन्।
सामाजिक सञ्जालमा आम जनताको दैनिकी र नेताका विलासी जीवनको भिन्नताबारे बनाइएका भिडियो पनि भाइरल भएका छन्। विगत विहिबार सरकारले २६ सामाजिक सञ्जाल बन्द गरेपछि प्रधानमन्त्री, सत्तारुढ र विपक्षी नेताहरुले फेसबुकमा पोष्ट जारी राखेपछि आम जनतामा बन्द आफूहरुका लागि मात्र भएको भन्दै आक्रोश उत्पन्न भएको थियो।
काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस सभापति देउवाको पोष्टमा कमेन्ट गर्दै “यो पोष्ट कुन भिपीएनबाट हो?” भन्दै ट्रोल गरे। यद्यपि, आन्दोलनमा राजनीतिक रंग मिसिन थालेको देखिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन जनाएका छन्।
विश्लेषकहरूले भने, कुनै अभियान राजनीतिक रूपमा मिश्रित भएमा लामो समय टिक्न कठिन हुने बताउँछन्। जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले आफ्नो मूल उद्देश्यमा पुग्छ कि राजनीतिक रंगले ढाक्छ, त्यो अब हेर्न बाँकी छ।









