गृहपृष्ठ कांग्रेसको सदस्यता नवीकरण शुल्क २ सय रुपैयाँमै सीमित

कांग्रेसको सदस्यता नवीकरण शुल्क २ सय रुपैयाँमै सीमित


६ चैत, काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्कभन्दा बढी रकम लिने अनुमति नदिने निर्णय लिइएको छ।

सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँभन्दा बढी रकम नलिन निर्देशन दिएको हो।

पार्टीले तोकेको शुल्कअनुसार प्रत्येक वर्ष नवीकरण गर्दा दुई सय रुपैयाँ बुझाउनुपर्नेछ। यद्यपि, केही स्थानमा नियमावलीमा तोकिएको रकमभन्दा बढी रकम लिने घटनाहरू भएका थिए।

पार्टीका संरचनाहरूले भवन निर्माण वा पार्टीलाई सहयोग दिने नाममा विभिन्न शीर्षकमा बढी शुल्क लिने गरेका थिए।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसका पालिका अध्यक्ष र उपाध्यक्षहरूको लेवी रकम घटाउने निर्णय लिएको छ।

कांग्रेसले पालिका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखको लेवी पारिश्रमिकबाट २० प्रतिशतबाट १० प्रतिशतमा घटाएको छ। वडाध्यक्षको हकमा १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा घटाइएको छ।

प्रदेश समितिलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

समिति सदस्य रसाइलीले भने, “क्रियाशील सदस्यता नवीकरणमा प्रदेश समितिको भूमिका बढाउनका लागि अनुगमन कार्यमा खटाउने निर्णय गरिएको छ।“

क्रियाशील सदस्यता स्थानान्तरण गर्दा बसाइँसराइ र मतदाता परिचयपत्र पेस गरेका व्यक्तिलाई मात्र मान्यता दिने निर्णय गरिएको छ।

दुवैतिरका जिल्ला सभापतिहरूद्वारा स्वीकृति प्राप्त भएपछि मात्रै क्रियाशील सदस्यता स्थानान्तरण हुने व्यवस्था संशोधन गरिएको छ।

अनुशासन समितिले निर्णय नगर्दा नवीकरण हुन नसकेका व्यक्तिहरूका बारेमा महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा, शीर्ष नेताहरू र अनुशासन समितिका सदस्यहरूसँग छलफल गरेर छिटो निर्णय गर्न पहल गर्ने निर्णय लिएको छ।

बैठकले क्रियाशील सदस्यताको कार्ड कम भएका जिल्लाहरू (जस्तै डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची) मा थप कार्ड पठाउने निर्णय गरेको छ।

सदस्यता व्यवस्थापन समितिले विदेशका ३६ जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय पनि लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु