गृहपृष्ठ घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा

घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा


काठमाडौं, असार  ३१ — घुस ‘डिल’ सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता आज बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।

प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त रहेकाले गुप्ताले राजीनामा पत्र बालुवाटारमै छाडेर फर्किएका छन्।

विश्वसनीय स्रोतका अनुसार प्रधानमन्त्रीले सोमबार बालुवाटारमा मन्त्री गुप्तालाई बोलाई अडिओ प्रकरणबारे स्पष्टीकरण मागेका थिए। उनले २४ घण्टाभित्र राजीनामा दिन कडा निर्देशन दिएका थिए।

यस प्रकरणमा संलग्न व्यक्तिबारे अनुसन्धान थालिएको छ। सार्वजनिक भएको अडिओको फरेन्सिक परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा पठाइएको छ। साथै अख्तियारलगायत नियामक निकायलाई निष्पक्ष छानबिनको लागि पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासँग सम्बन्धित कार्यका लागि लाखौं रुपैयाँको घुस लेनदेनको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा गुप्ता र एक बिचौलियाबीचको संवाद रहेको दाबी गरिएको छ।

प्रकरण सार्वजनिक भएसँगै मन्त्री बर्खास्ती र छानबिनका लागि चौतर्फी दबाब बढेको थियो। नागरिक समाज, प्रतिपक्षी दल र आम जनताले छानबिन र कडा कारबाहीको माग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु