गृहपृष्ठ साफ यू-१९ च्याम्पियनसिपका लागि उपाधि लक्ष्यसहित नेपाली टोली भारत प्रस्थान

साफ यू-१९ च्याम्पियनसिपका लागि उपाधि लक्ष्यसहित नेपाली टोली भारत प्रस्थान


सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो । सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन ।

२३ वैशाख, काठमाडाै । दक्षिण एशियाली उमेर समूहको फुटबलमा नेपाली यू-१९ टिमको इतिहास गौरवपूर्ण रहँदै आएको छ। सन् २०१५ मा नेपालमै पहिलोपटक आयोजित साफ यू-१९ च्याम्पियनसिपको उद्घाटन संस्करणमै नेपालले उपाधि जितेको थियो। त्यसपछि दोस्रो संस्करण समेत जितेको नेपालले पछिल्ला संस्करणहरूमा भने उपाधिबाट वञ्चित हुँदै आएको छ।

प्रतियोगिता कहिले यू-१८, कहिले यू-२० का नाममा हुँदै आएपनि यस पटक सातौं संस्करण ‘यू-१९’ कै नामबाट तेस्रो पटक आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसँगै भारतले तीन पटक र बंगलादेशले एक पटक उपाधि जितेका छन्। गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको थियो।

यस पटक नेपाली टिमले उपाधिको लक्ष्यसहित प्रतियोगितामा सहभागी हुने तयारी गरिरहेको छ। मंगलबार टोली भारत प्रस्थान गर्नेछ।


बी डिभिजनको अनुभव, युवा जोश

राम थापाको कप्तानीमा रहेको टिममा शहीद स्मारक बी डिभिजन लिग खेलिरहेका धेरै खेलाडी समावेश छन्। लगातार प्रतिस्पर्धात्मक खेल खेलेका कारण खेलाडीको फिटनेस सन्तोषजनक रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्।

“टिम समग्रमा राम्रो बनेको छ,” श्रेष्ठ भन्छन्, “४५ दिनजति तयारी गर्‍यौं। सबै खेलाडी लिग खेलिरहेका थिए, त्यसैले फिटनेस राम्रो छ। तर टिम सेट गर्न भने गाह्रो भयो किनभने सबै आ-आफ्नो टिममा व्यस्त थिए।”

कप्तान राम थापा पनि बी डिभिजन लिग खेलिरहेका खेलाडीहरूसँग टिम बलियो बनेको बताउँछन्। साथै, राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका सुवास बमको उपस्थिति टोलीको मनोबल उच्च बनाउन मद्दत पुगेको उनी बताउँछन्।

गत वर्षको साफ यू-२० च्याम्पियनसिप खेलेका राम थापा, मदन पौडेल, लक्षु थापा र धरबेन्द्र कुँवर पुनः टिममा छन्। यस्तै, यू-१७ च्याम्पियनसिपका कप्तान सुवास बमसहित आठ खेलाडी यू-१९ टिममा समावेश भएका छन्।


प्रशिक्षकको लक्ष्य : यसपटक उपाधि जित्नैपर्छ

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघि यू-१७ र यू-२० दुबै टिमको जिम्मेवारी सम्हालेका थिए। दुबै संस्करणमा समूह चरणमा बलिया प्रदर्शन गरे पनि फाइनलमा पराजयको सामना गर्नु पर्‍यो।

“अब दुईपटक उपाधिको नजिक पुगेर चुक्यौं,” श्रेष्ठ भन्छन्, “यसपालि त्यस्तो गल्ती नहोस् भनेर तयारीको क्रममा साना विवरणमा पनि ध्यान दिएका छौं। यसपालि टिम सन्तुलित छ, अनुभवी र फिटनेस राम्रो भएका खेलाडी छन्।”

श्रेष्ठका अनुसार लगातार उमेर समूहको टिमसँग काम गर्दा खेलाडीको क्षमता बुझ्न सजिलो भएको छ। “मलाई प्रेसर होइन सहजता महसुस भयो,” उनी भन्छन्, “खेलाडीहरू मेरो शैली बुझिसकेका छन्। नयाँ खेलाडीलाई पनि राम्ररी समेटेका छौं।”


भारत र बंगलादेश प्रमुख प्रतिस्पर्धी

साफ यू-१९ च्याम्पियनसिपमा हालसम्म भारत, नेपाल र बंगलादेशले उपाधि जितेका छन्। बंगलादेश साविक विजेता हो भने भारत तीनपटक च्याम्पियन बनिसकेको छ। कप्तान राम थापाका अनुसार, “भारत र बंगलादेश बलिया टिम हुन्। उनीहरूलाई हराउन सके उपाधि सम्भव छ।”


खेल तालिका र समूह स्थिति

प्रतियोगिता यही मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित युपियाको गोल्डेन जुब्ली स्टेडियममा हुनेछ। नेपाल समूह ‘बी’ मा आयोजक भारत र श्रीलंकासँग परेको छ। समूह ‘ए’ मा बंगलादेश, माल्दिभ्स र भुटान छन्।

नेपालले मे ११ मा श्रीलंका र मे १३ मा भारतसँग खेल्नेछ। प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ।


नेपाली टोली विवरण

गोलकिपर: भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर: रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर: कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड: पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

टिम अफिसियलहरू:
मुख्य प्रशिक्षक – उर्जन श्रेष्ठ
गोलकिपिङ प्रशिक्षक – सन्जिव जोशी
सहायक प्रशिक्षक – विनम श्रेष्ठ, मंगल महर्जन
फिजियो – अनिश बुढाथोकी
टिम म्यानेजर – रविन खड्का

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु