गृहपृष्ठ कांग्रेस लुम्बिनीमा महिला महामन्त्रीका लागि रीता केसी क्षेत्रीको दाबेदारी
कांग्रेस लुम्बिनीमा महिला महामन्त्रीका लागि रीता केसी क्षेत्रीको दाबेदारी
मंसिर १’२०८३
बुटवल टाइम्स
कल्पना घिमिरे
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा बुटवलकी रीता केसी क्षेत्रीले दाबेदारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी पार्टीका विभिन्न संगठनमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी क्षेत्री अब प्रदेश नेतृत्वमा नयाँ जिम्मेवारी लिने आकांक्षासहित अघि बढेकी हुन्।
स्पष्ट विचार, हक्की स्वभाव, निडर अभिव्यक्ति र आत्मविश्वासका साथ आफ्ना धारणा राख्ने क्षेत्री महिला अधिकार, संगठन सुदृढीकरण र पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिताका सवालमा निरन्तर आवाज उठाउँदै आएकी छन्। आफ्ना विचार स्पष्ट रूपमा राख्ने र जिम्मेवारीबाट पछि नहट्ने उनको कार्यशैली राजनीतिक वृत्तमा उनको पहिचानका रूपमा रहेको छ।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्षसमेत रहेकी क्षेत्रीले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। त्यसपछि तरुण दल र नेपाल महिला संघमा रहेर संगठन निर्माण तथा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरिन्।
उनले नेपाली कांग्रेसको शिक्षा विभागको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। त्यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा रुपन्देहीको जिल्ला सदस्य सचिव र महिला संघको जिल्ला सदस्यका रूपमा पनि काम गरेको अनुभव उनीसँग छ।
पछिल्लो समय नेपाल किसान महासंघको संगठन विस्तारमा सक्रिय क्षेत्री महासंघको अधिवेशन सम्पन्न गराउने क्रममा लुम्बिनी प्रदेशका ११ वटै जिल्लामा पुगेकी थिइन्। जिल्लास्तरका नेता तथा कार्यकर्तासँगको भेटघाट, संगठनात्मक गतिविधिमा सहभागिता र अधिवेशन सम्पन्न गराउन निर्वाह गरेको भूमिकाले उनको प्रदेशव्यापी सक्रियतालाई थप विस्तार गरेको छ।
विद्यार्थी, युवा, महिला र किसान संगठनमा रहेर काम गरेको अनुभवलाई प्रदेश नेतृत्वमा उपयोग गर्ने उनको योजना छ। पार्टीको तल्लो तहदेखि प्रदेश तहसम्म महिलालाई सहभागितामा मात्र सीमित नराखी नेतृत्वदायी र निर्णायक भूमिकामा स्थापित गर्नुपर्ने उनको जोड छ।
विभिन्न संगठनमा रहेर काम गर्दा आफूले पार्टीका लागि समय, श्रम र अनुभव खर्चिएको उल्लेख गर्दै क्षेत्रीले अब प्रदेश नेतृत्वमा रहेर थप जिम्मेवारी निर्वाह गर्ने आकांक्षा राखेकी छन्। संगठनमा गरेको योगदान र अनुभवका आधारमा महिला महामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी उनले सहयोग, साथ र हौसला प्रदान गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेकी छन्।














