गृहपृष्ठ पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ जना छनोट, पाँच जना प्रतिस्पर्धाबाट बाहिरिए
पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ जना छनोट, पाँच जना प्रतिस्पर्धाबाट बाहिरिए
मंसिर १३ , २०८३
बुटवल टाइम्स
काठमाडौं । कार्यकारी प्रमुख नियुक्तिका लागि गठित छनोट समितिले रणनीतिक कार्ययोजनामा आधारित मूल्याङ्कन तथा पर्यटन क्षेत्रका समस्या समाधानसम्बन्धी परीक्षणमा प्राप्त गरेको अंकका आधारमा ११ जनालाई छनोट गरेको हो ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्ति सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) अनुसार गरिएको छनोट प्रक्रियामा प्रारम्भिक चरणमा १६ जना उम्मेदवार परेका थिए । तीमध्ये मूल्याङ्कनमा उच्च अंक प्राप्त गर्ने ११ जनालाई अर्को चरणका लागि छनोट गरिएको हो ।
छनोटमा पर्ने उम्मेदवारहरूमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), नोजल कोइराला (मोरङ) र युविका भण्डारी (काठमाडौं) रहेका छन् ।
त्यस्तै रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि छनोट भएका छन् ।
यसअघि गत कात्तिक २० गते सार्वजनिक गरिएको १६ जनाको प्रारम्भिक सूचीमा रहेका पाँच जना भने पछिल्लो चरणमा पुग्न सकेनन् । सूचीबाट बाहिरिनेमा धर्मराज दवाडी (चितवन), राजाराम केसी (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), विनोद अर्याल (पाल्पा) र सन्तोष विक्रम थापा (काठमाडौं) छन् ।
छनोट समितिले अब ११ जनामध्येबाट सात जना र त्यसपछि तीन जनाको अन्तिम सूची तयार गरी कार्यकारी समितिसमक्ष सिफारिस गर्नेछ । कार्यकारी समितिको प्रक्रियापछि तीन जनामध्येबाट एक जनालाई नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरिनेछ ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि उक्त पद खाली भएको हो । त्यसयता निमित्त नेतृत्वमार्फत बोर्डको प्रशासनिक तथा नियमित कामकाज सञ्चालन हुँदै आएको छ ।

















