गृहपृष्ठ एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान

एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान


२३ वैशाख, जनकपुरधाम — नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलाई लिएर विवाद चुलिँदा कुर्सी हानाहानसम्मको अवस्था सिर्जना भएको छ। निर्वाचन समितिमाथि केही नेता–कार्यकर्ताले कुर्सी प्रहार गरेका छन्।

जनकपुरधाममा गत वैशाख २० गतेदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने निर्णय भएको थियो। अध्यक्ष पदमा भोला यादव र लक्ष्मीनारायण यादवले उम्मेदवारी दिएका छन्।

सोमबार राति मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको थियो। तर, उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै केही नेताहरूले आपत्ति जनाएका छन्। त्यसैका कारण अधिवेशन स्थलमा विवाद चर्किएको हो।

उपाध्यक्ष पदका लागि जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिव पदमा दीप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डल उम्मेदवार बनेका छन्। त्यस्तै, उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव छन् भने उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङको उम्मेदवारी परेको छ।

अधिवेशनमार्फत पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ।

निर्वाचन समितिले आज बिहान ८:३० बजेदेखि मतदान सुरु गर्ने घोषणा गरेको थियो। तर आवश्यक तयारी नपुगेपछि समय सरेर बिहान १० बजे तोकिएको थियो। अन्तिम नामावलीमा देखिएको विवादका कारण सो समयमै पनि मतदान सुरु हुन सकेको छैन।

एकातर्फ भोला यादव पक्षले तत्काल मतदान सुरु गर्न माग गरिरहेको छ भने अर्कोतर्फ लक्ष्मीनारायण यादव पक्ष धर्नामा बसेको छ। अधिवेशनमा ६३५ प्रतिनिधिले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु