गृहपृष्ठ ‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी

‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी


२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरूमाथि तीव्र आलोचना गरेका छन्। उनले सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न नहुने चेतावनी दिएका छन्।

प्रतिनिधि सभामा सोमबार भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा टिप्पणी गरेका थिए। त्यसको जवाफ दिँदै भट्टराईले प्रचण्डको अभिव्यक्तिलाई “दोहोरो मापदण्ड” को संज्ञा दिएका हुन्।

“विपक्षी नेताले बारम्बार सरकारलाई स्वार्थ समूह र बिचौलियाको गठजोड भनी आरोप लगाइरहनुहुन्छ। तर म भन्न चाहन्छु— सिसाको घरमा बसेर ढुंगा हान्नु मूर्खता हो,” भट्टराईले प्रतिनिधि सभामा भने।

उनले संविधानको धारा ७६ को उल्लेख गर्दै प्रचण्ड नेतृत्वमा बनेको सरकार संविधानसम्मत ठहरिने हो भने, ओली नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक भन्नु न्यायसंगत नहुने तर्क गरे।

यसै क्रममा भट्टराईले झापाको दमकमा निर्माण गरिएको भ्युटावरको विपक्षी दलबाट भइरहेको आलोचनालाई पनि अनुचित भने। “कुनै अपराध गरेजस्तो गरी भ्युटावरको विरोध गर्नु हास्यास्पद छ,” उनले टिप्पणी गरे।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको विषयमा पनि विपक्षी दलले अतिरञ्जित प्रतिक्रिया दिएको भन्दै भट्टराईले असन्तुष्टि व्यक्त गरे। “एक जना सहसचिव हटेपछि यस्तो मुटु चिरेजस्तो गर्ने?” उनले प्रश्न गरे।

शिक्षक आन्दोलनबारे प्रचण्डको अभिव्यक्तिप्रति पनि भट्टराईले कडा आपत्ति जनाए। “शिक्षकलाई सडक नछोड्न भन्नु राजनीतिक उक्साहट हो,” भट्टराईको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु