गृहपृष्ठ सीमा क्षेत्रको व्यापार र विमानस्थल सञ्चालनमा सहजीकरण गर्न सभामुखसँग व्यवसायीको आग्रह

सीमा क्षेत्रको व्यापार र विमानस्थल सञ्चालनमा सहजीकरण गर्न सभामुखसँग व्यवसायीको आग्रह

Oplus_16908288

मंसिर १२,२०८३
बुटवल टाइम्स
कल्पना घिमिरे

रुपन्देही । भैरहवाका उद्योगी तथा व्यवसायीले सीमा क्षेत्रको व्यापार प्रवर्द्धन, भारतीय पर्यटकको आवागमन सहज बनाउने तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक नीतिगत तथा कानुनी पहल गरिदिन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आग्रह गरेका छन् ।
सीमावर्ती क्षेत्रमा व्यापार तथा पर्यटन व्यवसाय सञ्चालनका क्रममा विभिन्न प्रशासनिक, कानुनी र व्यावहारिक समस्या भोग्नुपरेको भन्दै व्यवसायीले त्यसको समाधानका लागि सभामुख अर्यालको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन व्यवसायी सञ्जय बजिमयले सभामुख अर्याललाई लिखित पत्र बुझाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । विमानस्थलको प्रभावकारी सञ्चालन र अन्तर्राष्ट्रिय उडान विस्तारले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
त्यस्तै, प्रतिनिधिसभाका पूर्वसांसद तथा पर्यटन व्यवसायी प्रमोदकुमार यादवले भारतीय पर्यटकले नगद रकम बोकेर नेपाल भ्रमणमा आउँदा प्रहरी प्रशासनबाट पक्राउ पर्ने तथा थुनामा राखिनुपर्ने अवस्था रहेको विषय उठाए । यस्तो व्यवहारले भारतीय पर्यटकको आवागमन निरुत्साहित हुनुका साथै सीमावर्ती क्षेत्रको पर्यटन व्यवसायमा समेत नकारात्मक असर परेको उनले बताए । भारतीय पर्यटकले नेपाल भ्रमणका क्रममा अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनको माग थियो ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मालवाहक ट्रकलाई ओभरलोडको आरोपमा प्रहरीले १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको विषय उठाए । ढुवानी तथा व्यापारमा देखिएका यस्ता समस्याले सीमावर्ती क्षेत्रका व्यवसायीलाई कठिनाइ भएको भन्दै उनले जरिवाना प्रक्रिया र प्रशासनिक व्यवहारलाई व्यवस्थित बनाउन आग्रह गरे ।
व्यवसायीका माग तथा समस्या सुनेपछि सभामुख अर्यालले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि कानुनअनुसार सरकारसँग आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । निजी क्षेत्रका समस्या समाधानका विषयमा आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, “कानुनअनुसार सहजीकरण गर्न म सधैँ निजी क्षेत्रको साथमा छु ।”
सभामुख अर्यालले व्यवसायीले उठाएका समस्याको समाधानका लागि संसदीय समितिमा लिखित उजुरी दिएर पनि प्रक्रिया अघि बढाउन सकिने सुझाव दिए । उनले भने, “संसदीय समितिमा लिखित उजुरी दिएर पनि समस्या समाधान गर्न सकिन्छ ।”
सोट्टो नेपाल लुम्बिनीको समन्वयमा आयोजित सीमावर्ती क्षेत्रका व्यवसायीसँगको भेटघाट तथा छलफल कार्यक्रममा व्यवसायीले सीमा क्षेत्रमा व्यापार प्रवर्द्धनका लागि राज्यका निकायबाट पर्याप्त सहजीकरण हुन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ता, च्याम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्कालगायतले सीमा क्षेत्रको व्यापार तथा पर्यटन प्रवर्द्धनमा गृह प्रशासनका कारण विभिन्न कठिनाइ सिर्जना भइरहेको बताएका थिए ।
उनीहरूले सीमा क्षेत्रमा आउने पर्यटक तथा व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन र व्यापार तथा पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने गरी प्रशासनिक व्यवहारमा सुधार गर्न राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु