गृहपृष्ठ वैदेशिक रोजगारीको ठगी नियन्त्रण गर्न दुई मन्त्रालयले संयुक्त पहल गर्ने
वैदेशिक रोजगारीको ठगी नियन्त्रण गर्न दुई मन्त्रालयले संयुक्त पहल गर्ने
मंसिर ११,२०८३
बुटवल टाइम्स
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयले संयुक्त पहल गर्ने भएका छन् ।
कानुनमन्त्री सोविता गौतमले राजनीतिमा प्रवेश गरेदेखि नै नागरिकबाट सबैभन्दा धेरै सुनिएका गुनासामध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक रहेको बताउँदै दुई मन्त्रालयको सहकार्यमा छिट्टै विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएकी हुन् ।
वैदेशिक रोजगारी क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका काम भइरहेको उनले बताइन् । तर, प्रणालीमा सुधार गरेर मात्रै समस्या समाधान नहुने भन्दै नागरिकलाई सही प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउनुपर्नेमा उनले जोड दिइन् ।
“प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ,” मन्त्री गौतमले भनिन्, “वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदायस्तरसम्म पुग्नुपर्छ ।”
उनका अनुसार वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सूचना र सचेतना समुदायस्तरमै पुर्याउने उद्देश्यले दुवै मन्त्रालयले संयुक्त कार्यक्रम अघि बढाउन लागेका हुन् ।
यस पहलमार्फत वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई कानुनी प्रक्रिया, आधिकारिक माध्यमको प्रयोग, ठगीबाट बच्ने उपाय तथा समस्या पर्दा उजुरी गर्ने निकायबारे जानकारी गराउने लक्ष्य राखिएको छ ।

















