गृहपृष्ठ बाल हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन सांसद डा. तोसिमा कार्की मनिला जाँदै

बाल हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन सांसद डा. तोसिमा कार्की मनिला जाँदै


कार्तिक २८ ,२०८३

बुटवल टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् ।
फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा विभिन्न देशका मन्त्री, उच्च सरकारी अधिकारी, सांसद तथा सरोकारवालाहरूको सहभागिता रहनेछ ।
सम्मेलनअघि नोभेम्बर १६ मा विशेष संसदीय नेतृत्व कार्यक्रमसमेत आयोजना हुनेछ । युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा हुने उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्रमुख मुद्दाका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।
कार्यक्रममा हिंसा रोकथाम, प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणालीको विकास, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत र संसदीय निगरानीलगायत विषयमा विभिन्न देशका सांसद तथा विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।
बालबालिकामाथि हुने हिंसाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसको अन्त्यका लागि राजनीतिक प्रतिबद्धता, प्रभावकारी कानुन तथा स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक संरक्षणका निकायबीच समन्वय आवश्यक रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु