गृहपृष्ठ आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीलाई सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार
आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीलाई सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार
मंसिर , ९ , २०८३
बुटवल टाइम्स
काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । अदालतले मुद्दाको अन्तिम सुनुवाइकै क्रममा यस विषयमा निर्णय हुने आदेश दिएको छ ।
गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो ।
यसअघि रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो ।
तर, आईजीपीमा नियुक्त डा. केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस नभएको भन्दै ७ मंसिरमा हुने भनिएको सुनुवाइ सरेर ९ मंसिरका लागि तोकिएको थियो । आजको सुनुवाइपछि अदालतले कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो
















