गृहपृष्ठ ‘करुणा नै सर्वोच्च शक्ति’ भन्दै गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे बालेनले

‘करुणा नै सर्वोच्च शक्ति’ भन्दै गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे बालेनले


 

मंसिर ७, २०८३

बुटवल टाइम्स

काठमाडौँ । भारतको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान, विश्वास र इमानदारीका साथ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण तथा माल्यार्पणपछि उनले आगन्तुक पुस्तिकामा सन्देश लेख्दै गान्धीको जीवन र आदर्शको प्रशंसा गरेका हुन् ।

‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो,’ शाहले पुस्तिकामा लेखेका छन् ।

भगवान् बुद्धको जन्मभूमि नेपालबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा आफूले अमर ज्योति देखेको उल्लेख गरेका छन् । करुणा नै सर्वोच्च शक्ति र सबैभन्दा निमुखाको निस्वार्थ सेवामा साँचो नेतृत्व निहित रहेको गान्धीको आदर्शलाई उनले स्मरण गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल र भारतको सम्बन्ध साझा भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै दुई देश आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतबाट जोडिएको बताएका छन् ।

गान्धीका कालजयी विचारप्रति सम्मान व्यक्त गर्दै उनले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका आधारमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणका लागि साझा मार्गलाई निरन्तर प्रेरित गरिरहने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु