गृहपृष्ठ बालेनको भारत भ्रमणमा २ खर्ब ४० अर्ब सहायता, ८ समझदारी र ६ आयोजना उद्घाटन तथा शिलान्यास
बालेनको भारत भ्रमणमा २ खर्ब ४० अर्ब सहायता, ८ समझदारी र ६ आयोजना उद्घाटन तथा शिलान्यास
मंसिर ७, २०८३
बुटवल टाइम्स
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान, ६ वटा आयोजना उद्घाटन, शिलान्यास तथा हस्तान्तरण र २४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तापछि विभिन्न समझदारी तथा सहमति सार्वजनिक गरिएका हुन्। भ्रमणका क्रममा भारतले नेपाललाई २४ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २ खर्ब ४० अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहायता रहेको छ।
दुई देशबीच फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धान, रक्षा शिक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार नेटवर्क, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकास क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएका छन्।
भ्रमणका क्रममा अयोध्या–जनकपुर सरायु–कमला एक्सप्रेस रेलसेवा उद्घाटन, बनबासामा एकीकृत जाँच पोस्ट शिलान्यास, धारचुला–दार्चुला मोटरेबल पुल उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा पेट्रोलियम टर्मिनल शिलान्यास गरिएको छ।
हवाई र रेल कनेक्टिभिटी
काठमाडौं–भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउन सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श अघि बढाइनेछ। रक्सौल–काठमाडौं प्रस्तावित विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको तथा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
जलविद्युत् तथा बहुउद्देश्यीय आयोजना
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै अन्तिम रूप दिई कार्यान्वयन अघि बढाउन पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर शीघ्र पूरा गर्ने सहमति भएको छ। अरुण तेस्रो जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि भारतले जनाएको छ।
व्यापार, शिक्षा र प्रविधिमा सहकार्य
नेपाललाई कान्डला र पारादिप बन्दरगाहमा पहुँच उपलब्ध गराउने घोषणा गरिएको छ। नेपालमा स्टार्टअप, इन्क्युबेटर, इनोभेसन हब तथा भारतीय प्राविधिक संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। नेपाली विद्यार्थीलाई कानुन तथा प्रविधि अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने, एग्रो इन्डस्ट्रियल पार्क स्थापना गर्न सहयोग गर्ने तथा क्रिकेट पूर्वाधार र खेलाडी प्रशिक्षणमा सहयोग विस्तार गर्ने विषय पनि समेटिएका छन्।
सीमा व्यवस्थापन, सन्धि र धार्मिक पर्यटन
सीमा स्तम्भ मर्मत तथा पुनःस्थापनामा भइरहेको प्रगति र बाँकी सीमा समस्याको समाधानका लागि परराष्ट्र सचिवहरूलाई काम अघि बढाउन निर्देशन दिइएको छ। सन् १९५० को नेपाल–भारत मैत्री सन्धि आपसी समझदारीमा पुनरावलोकन गर्न सकिने विषय भिजन पेपरमा उल्लेख छ। लुम्बिनी, बोधगया तथा दुवै देशका बौद्ध र शिवशक्ति परम्परासँग जोडिएका स्थलबीच धार्मिक पर्यटन र कनेक्टिभिटी बढाउन सहकार्य गर्ने तथा बिहार, उत्तरप्रदेश र भारतका अन्य राज्यसँग नेपाललाई सडक, रेल र सीमा पूर्वाधारमार्फत जोड्ने परियोजनालाई गति दिने सहमति भएको छ।
















