गृहपृष्ठ प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटर टिम रुपन्देहीमा

प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटर टिम रुपन्देहीमा


बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटरको टिम रुपन्देही आउँदैछ । मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न बुधवार माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् ।

पुर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड रुपन्देहीमा एकैदिन पाँच वटा कार्यक्रममा सहभागी हुनेछन् । पार्टीका जिल्ला संयोजक नारायण जिसी  निर्मल का अनुसार रुपन्देहीको ओमसतिया, बुटवल र सैनामैनाका कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन् ।

अाज  (बुधवार) बिहान १०ः३० मा भैरहवा विमानस्थल आइ  प्रचण्ड १२ बजेसम्म ओमसतियामा रहनेछन् । त्यहाँ उनले जमुहानी तालमा बन्ने पार्क सिलान्यास गर्नेछन् । तालको सौन्दर्यकरण र विकासको लागि वर्षमान पुन अर्थमन्त्री हुँदा एक करोड ८० लाख रुपैंया विनियोजन भएको थियो । सोही बजेटमा हाल ओमसतियामा काम भैरहेको छ ।

प्रचण्डले १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल उपमहानगर कार्यालय र पहिरोको जोखिमयुक्त ज्योतिनगरको अनुगमन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा प्रचण्डले मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले मोर्चाको कार्यक्रममा सहभागीता जनाउनेछन् ।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित फुटवल प्रतियोगिताको समापन कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्किने कार्यतालिका रहेको प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।
पार्टी अध्यक्ष प्रचण्डसहित सिंगो पदाधिकारी टिम रुपन्देहीमा आउने भएपछि पार्टी नेता तथा कार्यकर्ताहरु उत्साहित देखिएका छन् । प्रचण्डको सम्बोधन सुन्नको लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट पार्टी कार्यकर्ता बुटवलमा भेला हुँदैछन् ।

आज र भोलि बुटवलमा हजारौंको उपस्थिति रहने र त्यसले बुटवलमा राजनीतिक सरगर्मी बढाउने मात्र नभई यहाँको अर्थतन्त्र समेत चलायमान बनाउने माओवादी केन्द्रका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुषालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु