गृहपृष्ठ भारतमा दूषित कफ सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ
भारतमा दूषित कफ सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ
आश्विन २३, २०८२
काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा दूषित खोकीको सिरप सेवनबाट कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि प्रहरीले सिरप उत्पादन गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको छ।
मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्मास्युटिकल्सका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त कम्पनीले ‘कोल्ड्रिफ’ नामक खोकीको सिरप उत्पादन गरेको थियो, जसमा विषाक्त रसायनको मात्रा अत्यधिक भेटिएको बताइएको छ।
छिन्दवाडाका प्रहरी अधिकारी अजय पाण्डेका अनुसार, छिन्दवाडाबाट गएको विशेष अनुसन्धान टोली (एसआईटी) ले रंगनाथनलाई पक्राउ गरेको हो। बालबालिकाको मृत्युका घटनापछि अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो।
सेप्टेम्बर ७ देखि मध्य प्रदेशको परासिया क्षेत्रमा एकपछि अर्को गर्दै बालबालिकाको मृत्यु हुन थालेपछि अधिकारीहरूले २३ सेप्टेम्बरमा घटनाको अनुसन्धान सुरु गरेका थिए। प्रारम्भिक परीक्षणमा सिरप सेवन गरेपछि मिर्गौला फेल भएर मृत्यु भएको पुष्टि भएको थियो।
स्रेसन फार्मास्युटिकल्सले उत्पादन गरेको उक्त सिरप तमिलनाडुको कांचीपुरम जिल्लास्थित उद्योगमा तयार गरिएको र छिन्दवाडा तथा वरपरका शहरहरूमा बिक्रीका लागि उपलब्ध रहेको जनाइएको छ।
तमिलनाडु औषधि नियन्त्रण विभागको प्रतिवेदनअनुसार, उक्त सिरपको एक ब्याचमा ४८.६ प्रतिशत ‘डाइथिलिन ग्लाइकोल’ (Diethylene Glycol) भेटिएको छ—यो अत्यन्तै विषाक्त रसायन हो, जसले यसअघि गाम्बिया, उज्बेकिस्तान र भारतमा पनि सयौँ बालबालिकाको ज्यान लिएको थियो।
रिपोर्ट सार्वजनिक भएपछि मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा ‘कोल्ड्रिफ’ सिरप बिक्रीमा प्रतिबन्ध लगाएको थियो।
यसैबीच, प्रहरीले चिकित्सक प्रवीण सोनी, स्रेसन फार्मास्युटिकल्सका सञ्चालकसहित अन्य सम्बन्धित व्यक्तिहरूविरुद्ध पनि एफआईआर दर्ता गरेको जनाएको छ।
(बीबीसीको सहयोगमा)

















